जनता टाइम्स

३ असार २०८३, बुधबार ०९:२७

मानव अधिकार संरक्षण र प्रवर्द्धनका लागि राज्य, नागरिक समाज र समुदायबीच सहकार्य आवश्यक : मानव अधिकार आयोग


सुर्खेत, असार ३ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा कर्णाली प्रदेशको मानव अधिकार अवस्था सम्बन्धमा सरोकारवालाहरूसँग प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ।

आयोगका अध्यक्ष तपबहादुर मगरको उपस्थितिमा आयोजित कार्यक्रममा आयोगका सचिव मुरारिप्रसाद खरेल, सहसचिव सम्झना शर्मासहितको उच्चस्तरीय अनुगमन टोलीको सहभागिता रहेको थियो।

कार्यक्रममा कर्णाली प्रदेश सभाका प्रतिनिधि, न्यायिक, प्रशासनिक तथा सुरक्षा निकायका पदाधिकारी, मानव अधिकारसम्बन्धी संघसंस्थाका प्रतिनिधि, मानव अधिकार रक्षक, महिला मानव अधिकार रक्षक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका प्रतिनिधि, द्वन्द्वपीडित, एकल महिलालगायत विभिन्न क्षेत्रका करिब ७५ जना सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय, सुर्खेतका प्रमुख रमेश कुमार थापाले कर्णाली प्रदेशको समग्र मानव अधिकार अवस्था तथा प्रमुख चुनौतीहरूबारे प्रस्तुतीकरण गर्नुभएको थियो। त्यसैगरी आयोगकी सहसचिव सम्झना शर्माले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सहभागीहरूलाई स्वागत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन मानव अधिकार अधिकृत राजेन्द्रप्रसाद न्यौपानेले गर्नुभएको थियो।

अन्तरक्रियाका क्रममा सहभागीहरूले मानव अधिकार संरक्षण तथा प्रवर्द्धनसँग सम्बन्धित विविध विषयमा आफ्ना धारणा, अनुभव तथा सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले प्रदेशमा मानव अधिकारको प्रभावकारी कार्यान्वयन, कमजोर वर्गको पहुँच सुनिश्चितता तथा सरोकारवाला निकायबीच समन्वय अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

कार्यक्रममा उठाइएका जिज्ञासा तथा प्रश्नहरूको सम्बोधन आयोगका अध्यक्ष मगर तथा सचिव खरेलले गर्नुभएको थियो। उहाँहरूले मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि राज्यका निकाय, नागरिक समाज र समुदायबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो।

राष्ट्रिय मानव अधिकार आयोगका अनुसार उक्त कार्यक्रमले कर्णाली प्रदेशको मानव अधिकार अवस्था, विद्यमान चुनौती तथा सुधारका सम्भावित उपायबारे सरोकारवालाबीच अर्थपूर्ण छलफल र अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको छ। साथै, कार्यक्रमबाट प्राप्त सुझावहरूलाई आयोगले आगामी नीति निर्माण तथा अनुगमन प्रक्रियामा उपयोग गर्ने विश्वास व्यक्त गरिएको छ।