जनता टाइम्स

३ असार २०८३, बुधबार १३:५५

प्रधानमन्त्री बालेनमाथि किन खनिए प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक ? यस्तो छ कारण


काठमाडौं, असार ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को गतिबिधि र कामलाई लिएर सदनमा खनिनुभएको छ । प्रधानमन्त्री शाहले जनताको समस्यातिर भन्दा आफ्नो प्रचार र मस्तीतिर ध्यान दिएको भन्दै प्रमुख सचेतक राई खनिनुभएको हो ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले प्रधानमन्त्री चिया पिउन भ्याउनुहुन्छ, किसानको समस्या समाधान गर्न फुर्सद छैन भन्दै सरकारले चिया उद्योग र किसानका समस्याप्रति गम्भीर चासो नदेखाएको आरोपसहित अक्रोश पोख्नुभयो ।

राईले इलामसहित पूर्वी पहाडी जिल्लाका चिया उद्योग र किसानहरू गम्भीर संकटमा परेको भए पनि सरकारले आवश्यक पहल नगरेको बताए। सामाजिक सञ्जालमा प्रधानमन्त्री चिया पसलमा गएर चिया पिएको देखिए पनि चिया उद्योग र किसानको समस्या समाधानमा भने ध्यान नदिएको किटानी नै गर्नुभयो ।

‘मैले योसँग सातौँ पल्ट भयो कुरा उठाएको, प्रधानमन्त्री-मन्त्रीहरूलाई लिएर देश बनाउँदै हुनुहुन्छ। सामाजिक सञ्जालमा हेरेर थाहा पाएको । उहाँ चिया पसलमा गएर चिया पिउन पनि भ्याउनुहुन्छ। तर वार्षिक ३ करोड बढी तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न उहाँले फुर्सद पाएको देखेको छैन,’ सांसद राईले भन्नुभयो ।

भारतीय चिया बोर्डले लागू गरेको नयाँ एसओपीका कारण नेपाली चिया निर्यात प्रभावित भएको भन्दै राईले गुणस्तर परीक्षणको प्रतिवेदन आउन दुई साताभन्दा बढी समय लाग्ने, प्रतिवेदन नआएसम्म चिया बिक्री गर्न नपाइने तथा सामान्य समस्या देखिए पनि उत्पादित चिया नष्ट गर्नुपर्ने व्यवस्थाले उद्योगीहरू समस्यामा परेको बताउनु भयो ।

उहाँले उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको, श्रमिकको रोजगारी गुमेको तथा उद्योगीहरू बैङ्कको ऋणको ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको तथ्य पनि सरकारलाई सुनाउनु भयो ।