काठमाडौं, असार ३ गते । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले पार्टीलाई नयाँ स्तरमा सुदृढ र व्यवस्थित बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको ‘आत्मसमीक्षा र पुनर्गठन’ अभियान सफल हुने विश्वास व्यक्त गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले जुनसुकै प्रकारका बाधा–व्यवधान र आरोप–लाञ्छना आए पनि आम पार्टीपंक्ति र जनअपेक्षाअनुसार अभियान सफलतापूर्वक सम्पन्न हुने बताउनुभएको हो। ‘नेकपा (एमाले) लाई नयाँ स्तरमा सुदृढ र व्यवस्थित गर्न ‘आत्मसमीक्षा र पुनर्गठन’को उद्देश्य राखी प्रारम्भ गरिएको अभियानको पूर्ण सफलताको कामना गर्दछु,’ पोखरेलले लेख्नुभएको छ, ‘जुनसुकै किसिमका बाधा–व्यवधान भए पनि तथा आरोप–लाञ्छना लगाइए पनि आम पार्टीपंक्ति र जनअपेक्षाअनुसार यो अभियान सफलताका साथ पूरा हुने विश्वास व्यक्त गर्दछु।’
यसैबीच, उहाँले आफ्नी जीवनसंगिनी मीराको स्वास्थ्यमा गम्भीर समस्या देखिएको जानकारी दिँदै उपचारका क्रममा आफू केही समय विशेष व्यस्त रहनुपरेकाले अभियानमा प्रत्यक्ष रूपमा सहभागी हुन नसकेको उल्लेख गर्नुभएको छ। पोखरेलले आफ्नो पारिवारिक अवस्थाका कारण अभियानमा सक्रिय रूपमा जोडिन नसके पनि अभियानप्रति पूर्ण समर्थन रहेको जनाउँदै पार्टीका नेता–कार्यकर्तालाई अभियान सफल बनाउन आग्रह गर्नुभएको छ। ‘जीवनसंगिनी मीराजीको स्वास्थ्यस्थितिमा गम्भीर समस्या देखापरेको र उपचारको सिलसिलामा म केही समय विशेष व्यस्त बन्नुपरेकाले अभियानमा प्रत्यक्ष रूपमा जोडिन असमर्थ रहेको सबै साथीहरूलाई अनुरोध समेत गर्दछु,’ उहाँले उल्लेख गर्नुभएको छ।
एमालेले पछिल्लो समय संगठन सुदृढीकरण, कार्यशैली सुधार तथा पार्टीभित्र आत्मसमीक्षा गर्दै पुनर्गठनको लक्ष्यसहित देशव्यापी अभियान सञ्चालन गरिरहेको छ। अभियानमा पार्टी जीवनकाे गम्भीर समीक्षा भइरहेकाे छ ।













प्रतिक्रिया दिनुहोस्