जनता टाइम्स

३ असार २०८३, बुधबार १७:५५

झलनाथ खनालको प्रचण्डलाई मार्गप्रशस्त गर्न खुला पत्र : ‘नेकपा बल्छीमा परेको माछाजस्तै बन्यो’


काठमाडौं, असार ३ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २४ पृष्ठ लामो खुला पत्र लेख्दै पार्टीभित्र देखिएको वैचारिक, राजनीतिक र संगठनात्मक संकटबारे गम्भीर समीक्षा गर्न आग्रह गर्नुभएको छ।

प्रचण्डलाई सम्बोधन गरिएको पत्रमा खनालले पार्टी एकीकरण भएको सात महिना बितिसक्दा पनि आफू कुनै जिम्मेवारीमा नरहेको उल्लेख गर्दै पार्टी सञ्चालनको शैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँले पार्टीभित्र स्पष्ट राजनीतिक कार्यदिशा, नीति तथा संगठनात्मक योजनाको अभाव रहेको दाबी गर्नुभएको छ।

खनालले नेकपा (एकीकृत समाजवादी) को चार वर्षे अनुभवको समुचित समीक्षा नगरी पार्टी एकता गरिएको उल्लेख गर्दै त्यसबाट उत्पन्न वैचारिक विचलन र संगठनात्मक कमजोरी नयाँ पार्टीमा समेत सरेको आरोप लगाउनुभएको छ। उहाँले ‘जनताको बहुदलीय जनवाद’, ‘लोकतान्त्रिक समाजवाद’ तथा कम्युनिष्ट आन्दोलनको मूल वैचारिक दिशाबारे गम्भीर बहस आवश्यक रहेको धारणा राख्नुभएको छ।

पत्रमा माओवादी केन्द्र र नेकपा एमाले बीच भएका विगतका एकता तथा विभाजनका घटनाको समीक्षा गर्दै खनालले नेतृत्व तहका निर्णयहरूले नेपाली कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको टिप्पणी गर्नुभएको छ।

उहाँले राष्ट्रिय महाधिवेशनसम्म पर्खिनुभन्दा तत्काल संयोजन समितिको विशेष बैठक बोलाएर पार्टीभित्र देखिएका समस्या समाधान गर्नुपर्ने सुझाव दिनुभएको छ। साथै प्रचण्ड र सह–संयोजक माधवकुमार नेपालले मार्गप्रशस्त गरी नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउनुपर्ने प्रस्ताव पनि राख्नुभएको छ। ‘तपाईं संयोजक र सह–संयोजकले संयोजन समितिको विशेष बैठक बोलाएर मार्ग प्रशस्त गर्नोस्, नयाँ, योग्य र विचारवान् कुनै नेतालाई संयोजक निर्वाचित गर्न कमिटीलाई अधिकार दिनोस्,’ पत्रमा खनालले उल्लेख गर्नुभएको छ।

खनालले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीले नयाँ राजनीतिक कार्यदिशा, नीति र सिद्धान्त स्पष्ट गर्न नसकेको उल्लेख गर्दै कार्यकर्ता र जनतालाई स्पष्ट मार्गदर्शन दिन नेतृत्व असफल भएको आरोप लगाउनुभएको छ। ‘कार्तिक १९ गते २०८२ मा भएको एकताको घोषणापछि पनि पार्टी एकीकरणले पूर्णता पाउन सकेको छैन,’ उहाँले पत्रमा लेख्नुभएको छ।

पत्रमा खनालले विगतमा एमाले र माओवादी केन्द्रबीचको एकताका बेला अपनाइएको ‘दुई पाइलट’ मोडेलको स्मरण गर्दै त्यही अभ्यासले पार्टीलाई दुर्घटनामा पुर्‍याएको दाबी गर्नुभएको छ। अहिले पनि पार्टीमा संयोजक र सह–संयोजकको व्यवस्था राखेर उही गल्ती दोहोर्‍याइएको उहाँको भनाइ छ। ‘विगतमा ओली र प्रचण्डको दुई पाइलट मोडेलले पार्टी दुर्घटनामा परेको थियो, अहिले फेरि त्यही अभ्यास दोहोरिएको छ,’ खनालले उल्लेख गर्नुभएको छ।

पार्टीको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै खनालले नेकपा अहिले ‘बल्छीमा परेको माछा’ जस्तो बनेको उल्लेख गर्नुभएको छ। नेतृत्वको दोहोरो संरचना र स्पष्ट दिशाको अभावले पार्टी अन्योलमा फसेको उहाँको निष्कर्ष छ।

उहाँले वर्तमान संयोजक र सह–संयोजक पदको औचित्यमाथि समेत प्रश्न उठाउँदै एक व्यक्तिले पार्टी सञ्चालन गर्न नसक्ने कारण के हो भनेर जिज्ञासा गर्नुभएको छ। ‘एउटा संयोजक बनेर पार्टी चलाउन किन नसक्ने ? के अब महाधिवेशन गर्दा पनि यस्तै सेटिङ गर्नुहुन्छ ? अब कार्यकर्ताले त्यस्तो सेटिङ स्वीकार गर्लान् ? कमरेड ! राम्ररी विचार गर्नोस् !’ खनालले पत्रमा लेख्नुभएको छ।

पत्रमा उहाँले पार्टीलाई नयाँ ऊर्जा, उत्साह र वैचारिक स्पष्टतासहित पुनर्गठन गर्न नेतृत्वले साहसिक निर्णय लिनुपर्ने उल्लेख गर्दै त्यसले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा दिन सक्ने विश्वास व्यक्त गर्नुभएको छ।