जनता टाइम्स

३ असार २०८३, बुधबार १८:१९

नागरिक अधिकार र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएकाे भन्दै पत्रकार महासंघको र्‍यालीमा सहभागी हुन पापडको आह्वान


काठमाडौं, असार ३ । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले पछिल्लो समय सरकारले नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमाथि अंकुश लगाउने प्रयास गरेको भन्दै त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

पापडले बुधबार जारी गरेको संयुक्त वक्तव्यमा संविधानको कार्यान्वयन, लोकतान्त्रिक संस्थाको सुदृढीकरण, विधिको शासन तथा नागरिक अधिकारको संरक्षण राज्य सञ्चालनका आधारभूत मान्यता भए पनि वर्तमान शासन सञ्चालनको शैलीले ती मूल्य र मान्यतालाई क्रमशः कमजोर बनाउँदै लगेको जनाएको छ।

वक्तव्यमा लोकतन्त्र केवल निर्वाचनबाट प्राप्त बहुमतको शासन मात्र नभई संविधानको सर्वोच्चता, शक्तिको सन्तुलित प्रयोग, संस्थागत उत्तरदायित्व, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, पारदर्शिता, नागरिक स्वतन्त्रता तथा विधिको शासनमा आधारित प्रणाली भएको स्मरण गराइएको छ।

पापडले पछिल्लो समय सुकुम्बासी बस्ती हटाउने कार्य, न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि प्रभाव पार्ने प्रयास, संसद्को प्रभावकारी भूमिकालाई सीमित गर्ने अभ्यास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पुग्ने गरी सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दी लगाउने कार्य तथा नागरिक अधिकार संकुचित पार्ने गतिविधिप्रति आपत्ति जनाएको छ।

त्यस्तै, पेशागत तथा ट्रेड युनियन अधिकारमाथि नियन्त्रणमुखी व्यवहार, विश्वविद्यालयहरूको स्वायत्ततामाथि हस्तक्षेप, शिक्षा र स्वास्थ्य क्षेत्रका स्थापित अभ्यासहरू कमजोर पार्ने नीतिगत अस्पष्टता तथा आम नागरिकको जीविका, रोजगारी र सम्मानजनक जीवनयापनमा प्रतिकूल असर पर्ने कदमहरूप्रति पनि पापडले विरोध जनाएको छ।

पापडले सरकारलाई नागरिक सर्वोच्चता, मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन तथा संविधानको अक्षर र भावनाको सम्मान गर्दै लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन, प्रेस स्वतन्त्रता, सूचनाको हक, न्यायपालिकाको स्वतन्त्रता, नागरिक अधिकार तथा संस्थागत सन्तुलनको रक्षा गर्न आग्रह गरेको छ।

वक्तव्यमा लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि लोकतन्त्रवादी शक्ति, पेशागत संगठन, सञ्चार क्षेत्र, शैक्षिक समुदाय तथा नागरिक समाजलाई एकजुट हुन समेत आह्वान गरिएको छ।

यसैबीच, नागरिक अधिकार खुम्च्याउने तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारी प्रयासको विरोधमा नेपाल पत्रकार महासंघले असार ५ गते दिउँसो ४ बजे काठमाडौंको माइतीघरमा आयोजना गर्न लागेको र्‍यालीप्रति पापडले ऐक्यबद्धता जनाएको छ। साथै उक्त र्‍यालीमा सहभागी हुन सम्पूर्ण लोकतन्त्रवादी शक्ति, पेशागत समुदाय तथा नागरिक समाजलाई आह्वान गरेको छ।

वक्तव्यमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र, नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा.डा. रमेशकुमार जोशी, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी तथा नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले हस्ताक्षर गर्नुभएको छ।