काठमाडौं, असार ३ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको राजीनामा माग्नुभएको छ । खनालले मार्गप्रशस्त गर्न भन्दै राजीनामा माग्नुभएको हो ।
गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनमा पार्टीले पराजय बेहोर्नुपरेको र माओवादी र एकीकृत समाजवादीबीच एकता घोषणा भएको लामो समयसम्म पनि वास्तविक रूपमा एकता हुन नसकेको उल्लेख गर्दै संयोजक र सहसंयोजकलाई राजीनामा दिन लिखित रूपमै आग्रह गर्नुभएको हो । गत कात्तिक १९ गते माओवादी र एकीकृत समाजवादीबीच एकता घोषणा भएको थियो ।
‘तपाईंहरूले यति लामो समयसम्म पार्टी एकीकरण नै गर्न सक्नुभएको छैन, यसबीचमा मुलुकको राजनीतिक शक्ति सन्तुलनमा परिवर्तन भएको छ, यसको कुनै ठोस विश्लेषण भएको छैन,’ संयोजक प्रचण्ड र सहसंयोजक नेपाललाई लेख्नुभएको पत्रमा खनालले भन्नुभएको छ, ‘नयाँ परिस्थितिअनुसार नयाँ राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तहरू अघि सारिएका छैनन ।’
खनालले पार्टी कार्यकर्ता र जनतालाई अब कसरी अघि बढ्ने भन्ने प्रष्ट मार्गदर्शनसमेत दिन नसकिएको कारण पनि बाटो छाडनुपर्ने बताउनु भएको छ । ‘यी सबै कुराले तपाईंहरूले पार्टी पुनर्गठन गर्न, बनाउन र हाक्न पनि सक्नु भएको देखिएन, यस्तो अवस्थामा पार्टीलाई महाधिवेशनसम्म व्यवस्थित रूपले पु¥याउन पनि गाह्रो छ, त्यसो हुँदा संयोजक र सहसंयोजकले विशेष बैठक बोलाएर मार्गप्रशस्त गर्नुहोस,’ खनालले भन्नुभएको छ ।
उहाँले नयाँ, योग्य र विचारवान कुनै नेतालाई संयोजक निर्वाचित गर्ने अधिकार कमिटीलाई दिन पनि आग्रह गर्नुभएको छ । यस्तै उहाँले अहिलेको कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका रूपमा रूपान्तरण गर्न आग्रह गर्नुभएको छ । खनालले दुवै नेताको राजीनामा मागेको यो पहिलो पटक हो । खनालको यो कदमले पार्टीभित्र हलचल ल्याएको छ ।














प्रतिक्रिया दिनुहोस्