काठमाडौं, असार ३ । ब्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको अभियोगमा दोषी ठहर भएका तात्कालिन माओवादीका ‘ब्रिगेड कमान्डर’ गोबिन्दबहादुर बटालाले सर्वोच्च अदालतमा आत्मसमर्पण गर्नुभएको छ । बटालाले बुधबार दिउँसो सर्वोच्च अदालतमा आफैँ उपस्थित भएर आत्मसमर्पण गर्नुभएको हो ।
सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले बटालाको आत्मसमर्पणपछि प्रहरीको जिम्मा लगाएर कारागार पठाइएको जानकारी दिनुभयो । आत्मसमर्पणसँगै बटालाले कैद सजायमा छुट पाउने छन । कानुनतः फैसला भएको मितिले ६० दिनभित्र हाजिर भएर कैदमा बसेमा जरिवानाको २० प्रतिशत मिनाहा हुने प्रावधान छ ।
सर्वोच्चका न्यायाधीशहरू डा. नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको पूर्ण इजलासले गत जेठ २८ गते सरकारको पुनरावलोकनमा पूर्व फैसला उल्ट्याएर बटालालाई १० वर्ष कैद सजाय तोकेको थियो ।
तत्कालीन न्यायाधीशहरू दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. मनोजकुमार शर्मा (हाल प्रधानन्यायाधीश) संलग्न पूर्ण इजलासले सफाइको फैसलामा पुनरावलोकनको अनुमति दिएको थियो । बटाला तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजनका ब्रिगेड कमान्डर हुनुहुन्थ्यो । तत्कालीन सर्वोच्चका न्यायाधीशहरू तेजबहादुर केसी र टंकबहादुर मोक्तानको इजलासले व्यापारी श्रेष्ठको हत्यामा बटलाको संलग्नता नदेखिने भन्दै सफाइ दिने फैसला सुनाएको थियो ।
बिसं २०६५ साल वैशाख १५ गते कोटेश्वरबाट नियन्त्रणमा लिएर श्रेष्ठलाई चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पुर्याइएको थियो । शिविरमा कुटपिटबाट मृत्यु भएका श्रेष्ठको शव नारायणी नदी किनारमा फेला परेको थियो । बटालाले प्रहरीसँगको बयानमा श्रेष्ठलाई गाडीमा राखेर ल्याउने काममा आफू संलग्न रहेको स्वीकार गरेका थिए ।













प्रतिक्रिया दिनुहोस्