जनता टाइम्स

३ असार २०८३, बुधबार १९:४५

वाग्मतीको तथ्यबिपरित प्रचार भएको महेश बस्नेतको दाबी, केपीको पक्षमा ५ गुणा बढी मत देखिएको जिकिर


काठमाडौं, असार ३ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीकाे वाग्मती प्रदेशको चुनावी समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी भेलाबारे केही सञ्चारमाध्यममा तथ्यविपरीत र भ्रामक सूचना सम्प्रेषण भएको दाबी गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले भेलामा व्यक्त गरिएका विचारलाई तोडमोड गरी पार्टीभित्र नेतृत्व परिवर्तनको पक्षमा व्यापक मत रहेको जस्तो प्रचार गरिएको बताउनुभएको हो।

उहाँका अनुसार उक्त अन्तरक्रियामा बोल्ने ४३ जना नेतामध्ये केवल ६ जनाले नाम तोकेर पार्टी पुनर्गठन गर्नुपर्ने धारणा राखेका थिए भने ७ जनाले पुनर्गठन आवश्यक रहेको बताएका थिए। बाँकी ३० जना सहभागीले वर्तमान नेतृत्वलाई थप सुदृढ बनाउँदै पार्टीभित्र पुनर्जागरण, पुनर्ताजगी तथा संगठनात्मक सुदृढीकरणको अभियान अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

बस्नेतले अधिकांश सहभागीको धारणा वर्तमान नेतृत्वलाई बलियो बनाउँदै संगठन सुदृढ गर्ने पक्षमा रहेको उल्लेख गर्दै केही सञ्चारमाध्यमले त्यसको विपरीत निष्कर्ष प्रस्तुत गरेको गुनासो गर्नुभएको छ। ‘तथ्यलाई तोडमोड गरेर भ्रम फैलाउने, पार्टीभित्रको आन्तरिक एकतामा खलल पुर्‍याउने तथा नेतृत्वप्रति अनावश्यक घृणा र अविश्वास सिर्जना गर्ने कार्य कसैका लागि पनि हितकर हुँदैन,’ बस्नेतले भन्नुभएको छ।

उहाँले तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न र सार्वजनिक बहसमा जिम्मेवार बन्न सञ्चारमाध्यम तथा सरोकारवालालाई आग्रह गर्नुभएको छ।

एमालेले हाल देशव्यापी रूपमा ‘पार्टी जागरण अभियान’ सञ्चालन गरिरहेको बेला वाग्मती प्रदेशमा सम्पन्न चुनावी समीक्षा तथा संगठनात्मक छलफललाई लिएर विभिन्न कोणबाट बहस भइरहेका छन्। यस्तै सन्दर्भमा सचिव बस्नेतले पार्टीभित्रको वास्तविक धारणा र तथ्य बाहिर ल्याउन आवश्यक रहेको बताउनुभएको छ।