रामेछाप, असार ३ । खाँडादेवी गाउँपालिकाको आयोजना तथा सामुदायिक विकास समाजको समन्वयमा सञ्चालन गरिएको महिला प्रजनन स्वास्थ्य तथा नसर्ने रोगहरूको जाँच र व्यवस्थापन सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
महिलाहरूको स्वास्थ्य अवस्था पहिचान गरी समयमै आवश्यक परामर्श तथा उपचार व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा कुल १ सय ४४ जना सेवाग्राहीले स्वास्थ्य सेवा प्राप्त गर्नुभएको गाउँपालिकाले जनाएको छ।
शिविरका क्रममा ६ जनामा मधुमेह (डायबिटिज) को समस्या पहिचान गरिएको थियो भने २४ जनामा उच्च रक्तचाप (हाइपरटेन्सन) देखिएको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन्।
त्यसैगरी पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक पहिचानका लागि गरिने भीआईए (VIA) परीक्षण ३० जनामा गरिएको थियो। परीक्षण गरिएकामध्ये सबैको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ।
शिविरमा पाठेघर खस्ने (युटेराइन प्रोलाप्स) समस्या भएका १० जना महिलाको पहिचान गरिएको छ। तीमध्ये दोस्रो चरण (सेकेन्ड डिग्री) का ७ जना, तेस्रो चरण (थर्ड डिग्री) का २ जना तथा चौथो चरण (फोर्थ डिग्री) की १ जना महिला रहेको स्वास्थ्य शाखाले जनाएको छ।

समस्या पहिचान भएका सबै सेवाग्राहीलाई आवश्यक स्वास्थ्य परामर्श प्रदान गर्नुका साथै थप उपचार तथा व्यवस्थापनका लागि सम्बन्धित स्वास्थ्य संस्थामा रिफर गरिएको बताइएको छ।
गाउँपालिकाले ग्रामीण क्षेत्रका महिलालाई विशेषज्ञ स्वास्थ्य सेवा पहुँचमा पुर्याउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। शिविर सञ्चालन तथा व्यवस्थापनमा गाउँपालिकाको स्वास्थ्य शाखाले आवश्यक प्राविधिक तथा व्यवस्थापकीय सहयोग गरेको थियो।
स्थानीय महिलाहरूले शिविरबाट सहज रूपमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गर्न पाएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन्।













प्रतिक्रिया दिनुहोस्