काठमाडौं, असार ४ । नेकपा (एमाले)ले पार्टीलाई वैचारिक, संगठनात्मक र जनसम्बन्धका दृष्टिले थप सुदृढ बनाउने उद्देश्यसहित ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’लाई व्यवहारमा लागू गर्दै ‘६ ज’को नीतिलाई अनिवार्य रूपमा आत्मसात् गरिने भएको छ।
एमालेका महासचिव शंकर पोखरेलले दिनुभएको जानकारीअनुसार अभियानको मूल आधार पार्टीको मार्गदर्शक सिद्धान्त जबज र ‘६ ज’को नीति रहनेछ। उहाँका अनुसार पार्टीका सबै तहका नेता–कार्यकर्ताले अभियान सञ्चालनका क्रममा उक्त नीतिलाई व्यवहारमा उतार्नुपर्नेछ।
अभियानअन्तर्गत समेटिएको ‘६ ज’को नीतिमा जनतामा जाऔँ, जनताका कुरा सुनौँ, जनप्रिय बनौँ, जनसंगठन परिचालन गरौँ, जबजलाई अध्ययन र आत्मसात् गरौँ तथा जनचाहनाअनुरूप योग्य एवं सक्षम नेतृत्व पहिचान र विकास गरौँ भन्ने अवधारणा समावेश गरिएको छ।
महासचिव पोखरेलका अनुसार अभियान केवल संगठन विस्तारमा सीमित नरही पार्टी र जनताबीचको सम्बन्धलाई थप बलियो बनाउने, विचार र व्यवहारबीचको दूरी घटाउने तथा आगामी निर्वाचनलाई लक्षित गरी पार्टीलाई थप सशक्त बनाउने उद्देश्यका साथ सञ्चालन गरिनेछ।
अभियानका क्रममा प्रत्येक पालिका तहमा संगठनात्मक पुनर्संरचनालाई प्राथमिकता दिइने भएको छ। यसअन्तर्गत भौतिक उपस्थितिमै पार्टी सदस्यता नवीकरण तथा विस्तार गर्ने, निष्क्रिय कमिटीहरूलाई पुनर्गठन गर्ने र संगठनलाई चलायमान बनाउने योजना रहेको छ।
त्यसैगरी युवालाई पार्टीको मूल प्रवाहमा आकर्षित गर्ने विशेष अभियान सञ्चालन गरिनेछ। युवाकेन्द्रित कार्यक्रममार्फत नयाँ पुस्तालाई संगठित गर्दै पार्टीमा उनीहरूको सक्रिय सहभागिता बढाइने एमालेले जनाएको छ।
पार्टीले जनमुखी सेवा अभियानलाई पनि अभियानको मुख्य आधार बनाएको छ। जनपक्षीय एजेन्डा र प्रत्यक्ष सेवा गतिविधिमार्फत जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउने लक्ष्य राखिएको छ।
अभियानले पार्टीभित्र अनुशासन, पारदर्शिता र आन्तरिक लोकतन्त्रको अभ्यासलाई थप प्रभावकारी बनाउने, निर्वाचित जनप्रतिनिधिलाई पार्टी नीति तथा जनताप्रति पूर्ण रूपमा जवाफदेही बनाउने र वैचारिक प्रशिक्षणलाई तल्लो तहसम्म विस्तार गर्ने कार्यलाई समेत प्राथमिकतामा राखेको छ।
एमालेले आधुनिक सूचना प्रविधिको उपयोग गर्दै डिजिटल संगठन निर्माण र प्रभावकारी प्रचारप्रसारको आधार तयार गर्ने रणनीति पनि अघि सारेको छ। त्यसका साथै आगामी निर्वाचनका लागि जनप्रिय र सक्षम उम्मेदवार छनोट गर्न नयाँ तथा व्यावहारिक मापदण्ड विकास गर्ने तयारी गरिएको छ।
अन्तरपुस्ताबीचको आबद्धतालाई सुदृढ बनाउँदै नेतृत्व रूपान्तरणलाई संस्थागत गर्ने, नयाँ नेतृत्वको विकास गर्ने तथा आगामी निर्वाचनमा विजय हासिल गर्ने लक्ष्यका साथ व्यापक जनपरिचालन सञ्चालन गर्ने कार्यक्रम पनि अभियानमा समावेश गरिएको छ।
महासचिव पोखरेलले विचार, संगठन र जनसम्बन्धलाई एकसाथ सुदृढ गर्दै ‘मिसन पार्टी जागरण’ अभियानलाई सफल बनाउन सम्पूर्ण पार्टी पंक्तिलाई सक्रिय रूपमा परिचालन हुन आग्रह गर्नुभएको छ। उहाँका अनुसार अभियानले पार्टीलाई जनतासँग अझ नजिक पुर्याउँदै संगठनलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ।













प्रतिक्रिया दिनुहोस्