जनता टाइम्स

४ असार २०८३, बिहीबार ०९:१९

अमेरिका-इरान शान्ति सम्झौतामा हस्ताक्षरसँगै मुख्य बुँदा सार्वजनिक, के-के छन ?


काठमाडौं, असार ४। लामो समयदेखि जारी युद्ध र तीव्र तनावलाई कम गर्ने उद्देश्यका साथ अमेरिका र इरानबीच एक ऐतिहासिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ। इरानको विदेश मन्त्रालय र अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले संयुक्त रूपमा यस अभूतपूर्व कूटनीतिक विकासको पुष्टि गरेका हुन्। हस्ताक्षरसँगै संझौताका मुख्य बुँदा सार्वजनिक गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियानले आधुनिक प्रविधिको प्रयोग गर्दै यस समझदारी पत्रमा डिजिटल माध्यमबाट हस्ताक्षर गर्नुभएको हो । दस्तावेजमा शीर्ष नेतृत्वबाट डिजिटल हस्ताक्षर भइसकेका कारण स्विट्जरल्यान्डको जेनेभामा आगामी शुक्रबार हुने भनिएको उच्चस्तरीय वार्तामा दुवै पक्षका प्रतिनिधिहरू सहभागी भए पनि त्यहाँ कुनै भौतिक हस्ताक्षर समारोह भने आयोजना हुने छैन।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले जेनेभा वार्ता अब समझदारीको कार्यान्वयन र प्राविधिक पक्षमा केन्द्रित हुने जानकारी दिएका छन्। सन् २०१८ मा तत्कालीन ट्रम्प प्रशासनले इरान आणविक सम्झौता (जेसीपीओए) बाट बाहिरिने निर्णय गरेपछि र हालैका वर्षहरूमा मध्यपूर्वमा बढेको सैन्य टकरावपछि यी दुई देशबीच भएको यो सबैभन्दा ठूलो र निर्णायक समझदारी हो।

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी ६० दिनको वार्ताको अवधिलाई अत्यन्तै महत्त्वपूर्ण तर ‘अन्तिम समयसीमा’ का रूपमा मात्रै नलिन आग्रह गर्नुभएको छ । यो ६० दिनको संक्रमणकालीन अवधिमा दुवै देशले तेहरानको विवादित आणविक कार्यक्रमलाई लिएर एउटा अन्तिम, विस्तृत र ठोस सम्झौताको खाका तयार पार्नुपर्नेछ। यद्यपि, राष्ट्रपति ट्रम्पले आफ्नो कडा रणनीतिक अडानलाई कायम राख्दै चेतावनी समेत दिनुभएको छ ।

अमेरिका र इरानले युद्ध अन्त्य गर्न सहमतिसँगै आफ्नो युद्ध अन्त्य गर्ने सम्झौताको अन्तरिम पाठ बुधबार सार्वजनिक गरेका छन् । अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियान दुवैले यस समझदारी पत्र (एमओयू) मा डिजिटल हस्ताक्षर गरेपछि सार्वजनिक गरिएको हो । इरानको परराष्ट्र मन्त्रालयले यो सम्झौता बुधबारदेखि नै लागू भइसकेको जनाएको छ । अमेरिका र इरानीबीच अन्तरिम शान्ति सम्झौतामा औपचारिक हस्ताक्षर भने शुक्रबार स्वीटजरल्याण्डमा हुँदैछ ।

दुई देशबीचको सम्झौताले गत अप्रिल महिनामा घोषणा गरिएको युद्धविरामलाई थप ६० दिनका लागि लम्ब्याएको छ, संझौतासँगै अव दुवै पक्षले स्थायी शान्ति सम्झौताका लागि वार्ता गर्ने बताएका छन । फ्रान्समा भेला भएका जी–७ का नेताहरूले पनि यस सम्झौताको स्वागत गरेका छन् । यद्यपि, एक वरिष्ठ अमेरिकी अधिकारीले सम्झौता बाध्यकारी नबनाएसम्म जुनसुकै पक्ष पनि यसबाट पछि हट्न सक्ने आशंका कायमै रहेको बताएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो प्रतिबद्धता पूरा नगरे पुनः आक्रमण सुरु गर्ने चेतावनी दिनुभएको छ । फ्रान्समा आयोजना भइरहेको जी–७ शिखर सम्मेलनमा सहभागी ट्रम्पले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘यदि उनीहरूले सम्झौता उल्लंघन गरे, हामी उनीहरूमाथि भयानक बमबारी गर्नेछौँ । म त्यसो होस् भन्ने चाहन्नँ, म उनीहरूले सम्झौताको सम्मान गरुन् भन्ने चाहन्छु ।’

ट्रम्पले इरानीहरूलाई ‘स्मार्ट मानिस’ भन्दै आगामी ६० दिनभित्र स्थायी युद्धविरामका लागि दुवै देशका वार्ताकारहरूले काम गरिरहेको जानकारी पनि दिनुभयो । उहाँले इरानले राम्रो व्यवहार नगरे पुनस् बम खसाल्न सुरु गर्ने चेतावनी यसअघि पनि दिनुभएको थियो ।

अडानबाट पछि हटे ट्रम्प

विगतमा इरानको ब्यालिस्टिक मिसाइललाई नामोनिसान मेटाइदिने कसम खाएका ट्रम्पले यसपटक भने आफ्नो बोली फेर्नुभएको छ । इरानसँग ब्यालिस्टिक मिसाइल हुनु हुँदैन भन्नु ‘अन्यायपूर्ण’ हुने भन्दै ट्रम्पले आक्रमणको आफ्नो एउटा प्रमुख औचित्यलाई आफैँले फिर्ता लिनुभएको हो ।

युद्धको सुरुवातमा ट्रम्पले राखेका धेरैजसो उद्देश्यहरू पूरा हुन नसकेको र इरान आक्रमण हुनुभन्दा अघिको तुलनामा अहिले अर्बौँ डलरको प्रतिबन्धबाट मुक्ति पाउने स्थिति नजिक पुगेको देखिएको रोयटर्सले जनाएको छ ।

समाचार अनुसार इरानको परम्परागत सरकार यथावतै छ । उसको अत्यधिक संवर्धित युरेनियमको भण्डार सुरक्षित छ । ब्यालिस्टिक मिसाइल क्षमता नष्ट भएको छैन र लेबनानको हिजबुल्लाह जस्ता इजरायल विरोधी समूहहरूलाई उसले गर्ने समर्थन पनि रोकिएको छैन ।

आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि युद्ध सुरु गर्दै पहिलो दिनमै ८६ वर्षीय सर्वोच्च नेता आयातोल्लाह अली खामेनी र शीर्ष सैन्य अधिकारीहरूको हत्या गरेका थिए । त्यसपछि यो द्वन्द्व क्षेत्रीय संकटमा परिणत भएको थियो, जसका कारण ऊर्जाको मूल्य बढेको थियो, मुद्रास्फीतिको दबाब सिर्जना भएको थियो र विकासोन्मुख देशहरूमा खाद्य संकटको चिन्ता बढाएको थियो ।

बुधबार सम्झौतासँगै स्ट्रेट अफ हर्मुज खुला हुने सम्भावनाले कच्चा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ८० डलरभन्दा तल ओर्लिएको छ, जुन युद्ध सुरु भएयताकै सबैभन्दा न्यून स्तर हो ।

यस्ता छन सम्झौताका प्रमुख ६ बुँदा

१. लेबनानसहित सबै मोर्चामा तत्काल युद्ध अन्त्य गरिने ।

२. हर्मुज जलडमरूमध्ये (स्ट्रेट अफ होर्मुज) मा समुद्री आवतजावत पूर्णरूपमा सुचारु गरिने ।

३. इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दी हटाइने ।

४. अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धहरू फुकुवा गर्ने र रोक्का गरिएका सम्पत्तिहरू खुला गर्ने ।

५. इरानको आर्थिक पुनर्स्थापनाका लागि ३०० अर्ब अमेरिकी डलरको योजना लागू गर्ने ।

६. इरानले परमाणु हतियार निर्माण नगर्ने आफ्नो दशकौँ पुरानो प्रतिबद्धतालाई पुनस् दोहोर्‍याउने ।