काठमाडौं, असार ४ । नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण देखाउँदै पार्टीको सक्रिय राजनीतिबाट अलग हुने घोषणा गर्नुभएको छ। उहाँले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई अब साधारण सदस्यका रूपमा रहने निर्णय गर्नुभएको जानकारी दिनुभएको हो।
उहाँले आफ्नो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिका कारण लिनुपरेको स्पष्ट पार्नुभएको छ।
करिब ४८ वर्षदेखि नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न चरण, उतारचढाव, संघर्ष र परिवर्तनका यात्रामा सक्रिय रहँदै आउनुभएका महराले आफ्नो जीवनको महत्त्वपूर्ण हिस्सा पार्टी, आन्दोलन, देश र जनताको सेवामा समर्पित गरेको उल्लेख गर्नुभएको छ।
उहाँले केही वर्षयता आफू एट्रोफी (Atrophy) सम्बन्धी रोगबाट पीडित रहेको र नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहे पनि स्वास्थ्य अवस्थाले अपेक्षित साथ दिन नसकेको बताउनुभएको छ। त्यसका कारण पार्टीका नियमित गतिविधि तथा जिम्मेवारीमा विगतझैँ सक्रिय, प्रभावकारी र जिम्मेवार ढङ्गले योगदान गर्न कठिन भएको उहाँको भनाइ छ।
उहाँले सक्रिय जिम्मेवारीबाट अलग भए पनि पार्टी जीवनको अन्तरसंघर्ष, नेतृत्व निर्माण तथा नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा आफ्नो प्रतिबद्धता यथावत् रहने उल्लेख गर्नुभएको छ। साथै, नयाँ पुस्ताका ऊर्जावान् युवाले देशलाई अझ समृद्ध, आत्मनिर्भर र सम्मानित राष्ट्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्दै आफ्नो लामो राजनीतिक यात्रामा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायप्रति आभार व्यक्त गर्नुभएको छ।
यस्तो छ वक्तव्य :
वक्तव्य
विगत करिब ४८ वर्षदेखि नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न चरण, उतारचढाव, संघर्ष र परिवर्तनका यात्रामा म निरन्तर रूपमा सहभागी रहँदै आएको कुरा सबैमा विदितै छ। यस अवधिमा नेकपा चौथो महाधिवेशन, नेकपा मशाल, नेकपा एकता केन्द्र, नेकपा (माओवादी), एनेकपा माओवादी, नेकपा माओवादी केन्द्र हुँदै हाल नेपाली कम्युनिष्ट पार्टीसम्म आइपुग्दा मैले आफ्नो क्षमता, समय र जीवनको महत्त्वपूर्ण हिस्सा पार्टी, आन्दोलन, देश र जनताको सेवामा समर्पित गरेको छु। यो यात्रामा मैले असङ्ख्य साथीहरू, जनता र परिवारको माया, विश्वास र सहकार्य प्राप्त गरेको छु, जसप्रति म सदैव कृतज्ञ रहनेछु।
तर, केही वर्षयता म एट्रोफी (Atrophy) सम्बन्धी रोगबाट पीडित छु। नसाहरू र मांसपेशीहरू क्रमशः खुम्चिँदै जाने यस समस्याका कारण नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहे पनि स्वास्थ्य अवस्थाले अपेक्षित साथ दिन सकेको छैन। परिणामस्वरूप, पार्टीका नियमित गतिविधि र जिम्मेवारीहरूमा विगतझैँ सक्रिय, प्रभावकारी र जिम्मेवार ढङ्गले योगदान गर्न कठिन हुँदै गएको छ।
यस यथार्थलाई आत्मसात् गर्दै, निकै गह्रौँ मनका साथ आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु। यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम हो।
यद्यपि, पार्टी जीवनको अन्तरसंघर्ष, नेतृत्व निर्माण र नेपालको राष्ट्रिय स्वाधीनताको सवालमा म सधैँ इमानदार र प्रतिबद्ध रहिरहनेछु। पार्टीमा बिताएका वर्षहरू, आन्दोलनका स्मृतिहरू, सहकर्मी साथीहरूको आत्मीयता र देश तथा जनताप्रतिको मेरो प्रेम र प्रतिबद्धता कहिल्यै समाप्त हुने छैन। मेरो शरीर कमजोर भए पनि देशप्रतिको चिन्ता, जनताप्रतिको माया र समृद्ध नेपालको सपना अन्तिम श्वाससम्म जीवित रहनेछ।
म दृढ विश्वास व्यक्त गर्दछु कि नयाँ पुस्ताका ऊर्जावान् युवाहरूले देशलाई अझ समृद्ध, आत्मनिर्भर र सम्मानित राष्ट्रका रूपमा स्थापित गर्नेछन्। उनीहरूको सफलतामा नै हाम्रो पुस्ताको संघर्ष र योगदानको सार्थकता रहनेछ।
यस लामो यात्रामा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायप्रति हार्दिक आभार व्यक्त गर्दछु।
कृष्णबहादुर महरा
नेकपा
४ असार २०८३













प्रतिक्रिया दिनुहोस्