जनता टाइम्स

४ असार २०८३, बिहीबार १९:३३

रामेछापमा समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन तालिम, स्वास्थ्यकर्मीकाे क्षमता विकासमा जाेड  


रामेछाप, असार ४ । जनस्वास्थ्य कार्यालय रामेछापले आयोजना गरेको ६ दिने समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन (CBIMNCI) तालिम सम्पन्न भएको छ।

कार्यालय प्रमुख विभुकुमार झाको अध्यक्षतामा जेठ २९ गतेदेखि असार ३ गतेसम्म सञ्चालन भएको तालिममा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। तालिममार्फत नवजात शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको रोग पहिचान, उपचार तथा व्यवस्थापनसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गराइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

तालिममा रामेछाप अस्पतालका एमडीजीपी डा. मनोहर श्रेष्ठ, सुनापति गाउँपालिकाको स्वास्थ्य शाखाका पब्लिक हेल्थ नर्स विष्णु घर्ती तथा वीरबहादुर बोहरालगायतका प्रशिक्षकहरूले सहजीकरण गर्नु भएकाे थियाे। जनस्वास्थ्य कार्यालयले तालिमलाई प्रभावकारी बनाउन योगदान पुर्‍याउने सम्पूर्ण प्रशिक्षकप्रति कृतज्ञता व्यक्त गरेको छ।

त्यसैगरी, तालिममा सक्रिय रूपमा सहभागी भई सिकाइ प्रक्रियामा उत्साहजनक सहभागिता जनाउने सबै स्वास्थ्यकर्मीलाई धन्यवाद तथा बधाईसमेत दिइएको छ।

जनस्वास्थ्य कार्यालयका अनुसार ६ दिने सघन तालिमले सहभागी स्वास्थ्यकर्मीहरूको ज्ञान, प्राविधिक दक्षता र सेवा प्रवाह क्षमतामा थप सुधार ल्याउने अपेक्षा गरिएको छ। तालिमबाट हासिल भएको सीप कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग हुँदा नवजात शिशु तथा बालबालिकाले अझ गुणस्तरीय, सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास कार्यालयले व्यक्त गरेको छ।

कार्यालयले तालिमबाट सिकिएका ज्ञान र सीपलाई व्यवहारमा कार्यान्वयन गरी जिल्लाका सबै बालबालिकाको स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारमा योगदान पुर्‍याउन सहभागी स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ।