काठमाडौं, असार ४ । गृहमन्त्री सुधन गुरुङले श्रम संस्कति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङलाई नमिठो जवाफ दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो मन्त्रालयबारे उठाइएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री गुरुङले हर्कलाई मनिठो जवाफ दिनुभएको हो ।
गृहमन्त्रीले साम्पाङकै प्रश्नको जवाफ दिने क्रममा ‘सामाजिक सञ्जालमा हुने गालीगलौज र ‘मुख छाड्ने’ प्रवृत्तिलाई निरुत्साहित गर्न सरकारले विशेष रणनीति अख्तियार गरेको’ भन्दै हर्क नै गालीगलोजमा लागेको संकेत गर्नुभयो । प्रतिनिधिसभाको बैठकमा सांसद हर्क साम्पाङले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री गुरुङले भन्नुभयो, ‘गालीगलौजलाई सून्य सहनशीलताको नीति लिइने छ ।
मन्त्री गुरुङले अनलाइनमा बढ्दै गएको बेथिति र ‘स्क्याम’ लाई नियन्त्रण गर्न गृह मन्त्रालयले अर्थ र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसँग समन्वय गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार यस समस्याको समाधानका लागि एक शक्तिशाली ‘टास्क फोर्स’ गठन गर्ने तयारी भइरहेको छ ।
‘अनलाइनमा मुख छाड्ने र गालीगलौज गर्नेहरूका विरुद्ध हामी निर्मम रूपमा प्रस्तुत हुनेछौं,’ मन्त्री गुरुङले भन्नुभयो, ‘यसमा कसले कुन पार्टीलाई समर्थन गर्छ वा कुन पक्षको हो भन्ने आधारमा कसैलाई पनि छुट दिइने छैन।’ गृहमन्त्री गुरुङले सांसदहरूलाई समेत सामाजिक सञ्जालमा लक्षित गरी प्रहार हुने गरेको सन्दर्भ उल्लेख गर्दै नागरिकको सुरक्षा र डिजिटल सुशासनका लागि सरकार गम्भीर रहेको बताउनु भयो।
अनलाइनमार्फत हुने मानमर्दन र अन्य डिजिटल बेथिति रोक्न बहु मन्त्रालयको संलग्नतामा एकीकृत योजना कार्यान्वयनमा ल्याइने जानकारी पनि उहाँले दिनुभयो । सांसद हर्क साम्पाङले अनलाइनमा जथाभावी गालीगलौज गर्ने र मुख छाड्नेहरूलाई सरकारले कस्तो कारबाही गर्छ भनी प्रश्न गरेका थिए। सोही प्रश्नको सम्बोधन गर्दै मन्त्री गुरुङले सरकारी संयन्त्रले अब यस्ता गतिविधिलाई नजिकबाट निहालिरहेको र दोषीमाथि कडा कानुनी कारबाही गरिने आश्वासन सदनलाई दिएका हुन्।














प्रतिक्रिया दिनुहोस्