काठमाडौं, असार ४ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा निर्वाचन–२०८२ को समीक्षा तथा पार्टी पुनर्गठनका सम्बन्धमा प्राप्त सुझावहरू पार्टीका लागि अत्यन्त उपयोगी हुने बताउनुभएको छ।
कपिलवस्तुको चन्द्रौटामा बुधबार आयोजित लुम्बिनी प्रदेशस्तरीय भेलापछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका विषयमा सहभागीहरूले प्रस्तुत गर्नुभएका विचार तथा विश्लेषणप्रति धन्यवाद व्यक्त गर्नुभएको हो।
उहाँले छलफलमा सहभागीले व्यक्त गर्नुभएका सुझावलाई कार्यदलका पदाधिकारी तथा सदस्यहरूले तटस्थ र गम्भीर ढङ्गले सुनेको उल्लेख गर्दै ती सुझाव अन्ततः समग्र पार्टीका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ।
उपाध्यक्ष पौडेलले नेकपा (एमाले)को विशेषता विचार, बहस र छलफललाई प्रोत्साहन गर्ने रहेको उल्लेख गर्दै पार्टीभित्र हुने बहस स्वस्थ, मर्यादित र विधिसम्मत हुनुपर्ने धारणा राख्नुभएको छ। त्यस्ता छलफलले पार्टीलाई सही निष्कर्षमा पुग्न र आन्तरिक एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ।

उहाँले जनताको बहुदलीय जनवाद प्रतिपादनका क्रममा भएको वैचारिक बहस र त्यसबाट प्राप्त ऐतिहासिक उपलब्धि एमालेको लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण उदाहरण भएको उल्लेख गर्नुभएको छ।
उपाध्यक्ष पौडेलले लुम्बिनी प्रदेशसहित समग्र देशको कम्युनिष्ट आन्दोलनको गौरवपूर्ण विरासतमा पछिल्ला निर्वाचन परिणामले गम्भीर धक्का पुगेको स्वीकार गर्दै त्यस अवस्थाले सबैलाई चिन्तित बनाएको बताउनुभएको छ।
उहाँले निर्वाचनबाट शिक्षा लिएर, आवश्यक सुधार गर्दै, पार्टीलाई पुनर्गठित गरी नेपाली कम्युनिष्ट आन्दोलनको विजययात्रालाई पुनः सुनिश्चित गर्नुपर्नेमा सहभागीहरूले जोड दिएको उल्लेख गर्दै त्यसका लागि सबैप्रति आभार व्यक्त गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्