काठमाडौं, असार ४ । श्रम संस्कृति पार्टीका सभापति हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हुन लागेको महाधिवेशनमा सहभागी नहुने घोषणा गर्नुभएको छ। प्रधानमन्त्रीले सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति रास्वपाले आधिकारिक धारणा सार्वजनिक नगरेकाले आफू कार्यक्रममा उपस्थित हुन नसक्ने बताउनुभएको हो।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले रास्वपाबाट महाधिवेशनमा सहभागी हुन निमन्त्रणा प्राप्त भएको जानकारी दिनुभएको छ। उहाँले उक्त निमन्त्रणा रास्वपाका सभापति रवि लामिछानेको शिष्टाचारस्वरूप आएको आफूले बुझेको उल्लेख गर्नुभएको छ। ‘रास्वपाले आफ्नो अधिवेशनमा मलाई निम्तो दिएको छ। मलाई थाहा छ, यो courtesy रवि जीको हो,’ उहाँले लेख्नुभएको छ।
तर प्रधानमन्त्रीले हालै सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति रास्वपाले पार्टीको आधिकारिक धारणा सार्वजनिक नगरेकाले आफूलाई महाधिवेशनमा सहभागी हुन नैतिक रूपमा सहज नभएको उहाँको भनाइ छ। ‘प्रधानमन्त्रीले सीमा बारे बोलेको प्रति पार्टीको धारणा आएको भए मलाई नि सजिलो हुनेथ्यो। आएन। म उपस्थित बन्न सक्दिन है,’ साम्पाङले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ।
रास्वपाले यही असार ७, ८ र ९ गते चितवनको आफ्नो राष्ट्रिय महाधिवेशन आयोजना गर्दै छ। महाधिवेशनको पूर्वसन्ध्यामा साम्पाङको यो अभिव्यक्ति सार्वजनिक भएपछि प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा रास्वपाको आधिकारिक धारणाबारे पुनः चासो बढेको छ।
यद्यपि, रास्वपाले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिबारे औपचारिक निर्णय वा प्रतिक्रिया सार्वजनिक गरेको छैन।













प्रतिक्रिया दिनुहोस्