जनता टाइम्स

५ असार २०८३, शुक्रबार ०७:०७

लोकतन्त्र, प्रेस स्वतन्त्रता र विधिको शासनको पक्षमा आज पापडको ऐक्यबद्धता र्‍याली


काठमाडौं, असार ५ । लोकतन्त्र, विधिको शासन, नागरिक सर्वोच्चता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको संरक्षणका पक्षमा आज काठमाडौंमा ऐक्यबद्धता र्‍याली आयोजना हुँदै छ।

शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) को आयोजनामा हुने उक्त र्‍याली आज दिउँसो ४ बजे माइतीघर मण्डलाबाट सुरु हुने कार्यक्रम रहेको छ। लोकतान्त्रिक मूल्य–मान्यता र संविधानले प्रत्याभूत गरेका मौलिक अधिकारको संरक्षणका लागि नागरिक तथा विभिन्न पेसागत क्षेत्रका प्रतिनिधिहरूलाई  र्‍यालीमा सहभागी हुन आयोजकले आह्वान गर्नुभएको छ।

पापडमा आबद्ध नेपाल चिकित्सक संघ, नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन, नेपाल प्राध्यापक संघ, नेपाल शिक्षक महासंघ तथा नेपाल इन्जिनियर्स एसोसिएसन लगायतका संस्थाहरूको र्‍यालीमा सहभागिता रहने जनाइएको छ।

आयोजकका अनुसार लोकतान्त्रिक प्रणाली, विधिको शासन, नागरिक अधिकार, स्वतन्त्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले र्‍याली आयोजना गरिएको हो। साथै संविधानले सुनिश्चित गरेका नागरिक अधिकार र सूचनाको हकको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको सन्देशसमेत र्‍यालीमार्फत प्रवाह गरिने बताइएको छ।

पापडले लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा, नागरिक स्वतन्त्रताको संरक्षण तथा शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउन सबै नागरिकलाई र्‍यालीमा सहभागी भई ऐक्यबद्धता जनाउन आह्वान गरेकाे छ ।