काठमाडौं, असार ५ । महेश बस्नेतले पार्टीभित्र बृहत्तर एकता कायम गरी वामपन्थी शक्तिबीच कार्यगत एकता सुदृढ बनाएर लोकतन्त्रवादी शक्तिसँग सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र जनहितको पक्षमा दृढतापूर्वक उभिन सबै राजनीतिक शक्ति र कार्यकर्तालाई आह्वान गर्नुभएको हो।
बस्नेतले पपुलिष्ट अराजकतावाद र अवसरवादलाई परास्त गर्दै साम्राज्यवादी हस्तक्षेपको विरोध गर्नुपर्ने उल्लेख गर्नुभएको छ। साथै प्रतिशोध, अधिनायकवादी, राष्ट्रघाती, गरिबमारा तथा जनविरोधी सरकारलाई लोकतान्त्रिक ढङ्गबाट विस्थापित गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ।
उहाँले वर्तमान राजनीतिक परिस्थितिमा बृहत्तर एकता, सहकार्य र संघर्ष नै समयको अनिवार्य आवश्यकता भएको उल्लेख गर्दै जनताको अधिकार, समृद्धि र लोकतन्त्रको संरक्षणका लागि सबै पक्ष एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
बस्नेतले पार्टी नेतृत्वको इतिहास, योगदान र अनुभवको सम्मान गर्नुपर्नेमा जोड दिँदै नेतृत्व विकासलाई क्रमबद्ध, वैधानिक र सहमतिपूर्ण प्रक्रियामार्फत अघि बढाउनुपर्ने बताउनुभएको छ। पार्टीभित्र विधि, पद्धति र लोकतान्त्रिक संस्कृतिलाई अझ सुदृढ बनाउँदै संगठनलाई थप एकताबद्ध बनाउनु आजको आवश्यकता भएको उहाँको भनाइ छ।













प्रतिक्रिया दिनुहोस्