दोलखा, असार ५ । तीन दशकभन्दा बढी समयअघि दोलखा बजारबाट चोरी भई विदेश पुगेका मल्लकालीन आकाश भैरवका दुई ऐतिहासिक तथा बहुमूल्य मुकुट कूटनीतिक र कानुनी प्रक्रियामार्फत अमेरिकाबाट नेपाल फर्काइएको छ।
दोलखाको धार्मिक आस्था, सांस्कृतिक परम्परा र ऐतिहासिक पहिचानसँग अभिन्न रूपमा जोडिएका यी मुकुट विसं २०५१ सालतिर चोरी भएका थिए। त्यसयता विभिन्न निकायले निरन्तर खोजी, अनुसन्धान र अन्तर्राष्ट्रिय समन्वय गर्दै आएकोमा अन्ततः मुकुटहरू स्वदेश फर्काउन सफलता मिलेको हो।
नेपाल ल्याइएका दुवै मुकुटलाई सम्बन्धित निकायको समन्वयमा सुरक्षित रूपमा संरक्षण गरिएको छ। आफ्नो पुर्खाले संरक्षण गर्दै आएको अमूल्य सम्पदा पुनः आफ्नै भूमिमा फर्किनु सम्पूर्ण दोलखावासीका लागि गर्वको विषय भएको स्थानीयवासीहरूले बताएका छन्। वर्षौँसम्म सम्पदा हराएको पीडा बोकेका स्थानीय अहिले त्यसको पुनः प्राप्तिसँगै भावुक र उत्साहित बनेका छन्।
स्थानीय अगुवाहरूले यस घटनालाई दुई वटा ऐतिहासिक मुकुट फिर्ता आएको विषयमा मात्र सीमित नभई नेपालको सांस्कृतिक सम्पदा संरक्षण अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। उहाँहरूका अनुसार यस सफलताले विदेश पुगेका अन्य धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक सम्पदासमेत स्वदेश फर्काउन राज्य र सरोकारवाला निकायलाई थप हौसला प्रदान गर्नेछ।
सम्पदा फिर्ता गराउने प्रक्रियामा नेपाल सरकार, अमेरिकी निकाय, सम्पदा संरक्षण अभियन्ता तथा विभिन्न संघसंस्थाले समन्वयात्मक भूमिका निर्वाह गरेका थिए। उनीहरूको संयुक्त प्रयासका कारण दशकौँदेखि हराइरहेको बहुमूल्य सांस्कृतिक सम्पदा अन्ततः आफ्नो जन्मभूमिमा फर्किन सफल भएको हो।
दोलखावासीहरूले आकाश भैरवका ऐतिहासिक मुकुट स्वदेश फर्किनुलाई सांस्कृतिक इतिहासको महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै यस अभियानमा योगदान पुर्याउने सबै व्यक्ति र संस्थाप्रति कृतज्ञता व्यक्त गरेका छन्। साथै, दोलखाबाट विगतमा चोरी भई विदेश पुगेका अन्य धार्मिक तथा ऐतिहासिक सम्पदासमेत खोजी गरी स्वदेश फर्काइने विश्वास व्यक्त गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्