काठमाडौं, असार ५ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभामा साे दलका नेता हर्क साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिबारे आफूहरूले निरन्तर आवाज उठाउँदा पनि सरकार र संसद नेतृत्वले बेवास्ता गरेको भन्दै नेपाल ‘ढुङ्गाहरूको देशजस्तो’ बनेको टिप्पणी गर्नुभएको छ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै करिब एक महिनादेखि आवाज उठाइरहेको भए पनि त्यसको सुनुवाइ नभएको गुनासो गर्नुभयो। सभामुखले समेत उक्त अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउन अस्वीकार गरेको उहाँको भनाई थियो।
‘प्रधानमन्त्रीको वक्तव्य सच्याउनुपर्छ भनेर आन्दोलन गरेको पनि १६ दिन भएछ। यो प्लेकार्ड बनाएर उभिएको पनि त्यति नै दिन भयो। सभामुखलाई पनि हामीले उहाँले बोल्नुभएको राष्ट्रघाती शब्द डिलिट गरियोस् भनेको पनि त्यति नै दिन भयो। अब तपाईँले पनि नसुन्ने, उहाँले पनि नसुन्ने, अब कसैले कसैको केही पनि नसुन्ने, यो ढुङ्गाहरूको देश हो या मान्छेको देश हो, अचम्म लागेको छ,’ उहाँले भन्नुभयो।
उहाँले लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधि र सरकार दुवै जिम्मेवार हुनुपर्नेमा जोड दिँदै पद, पोशाक वा सुविधाले मात्रै जिम्मेवार नेतृत्वको पहिचान नबन्ने बताउनुभयो। ‘हामी जिम्मेवार बन्नुपर्छ। जिम्मेवारीले मात्र मान्छे मान्छे बन्छ। टाइ–सुट लगाएर चिल्ला गाडी चढेर मात्र मान्छे बनिँदैन,’ उहाँले भन्नुभयो।
साम्पाङले सरकारले आफ्ना त्रुटि स्वीकार गरेपछि त्यसलाई तत्काल सच्याउनुपर्ने दायित्व रहेको पनि उल्लेख गर्नुभयो। अर्थमन्त्रीले रक्षा मन्त्रालयको बजेटमा त्रुटि भएको स्वीकार गरे पनि त्यसलाई सच्याउनुभन्दा अघि नै बजेट पारित गरिएको विषयप्रति उहाँले आपत्ति जनाउनुभयो। ‘सरकारले गल्ती गर्नु हुँदैन। अर्थमन्त्रीले हिजो रक्षा मन्त्रालयको बजेटमा मिस्टेक भएको स्वीकार गर्नुभयो। तर त्यो नसच्याई पास गरियो। यो के हो ? सरकारलाई गल्ती गर्ने छुट हुँदैन,’ उहाँले भन्नुभयो।
उहाँले सरकार, संसद र राज्यका सबै निकायले संविधान, जिम्मेवारी र जवाफदेहिताको भावना अनुरूप काम गर्नुपर्नेमा जोड दिँदै जनताका सरोकारका विषयमा गम्भीर बन्न आग्रह गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्