जनता टाइम्स

५ असार २०८३, शुक्रबार १३:५१

राप्रपा काठमाडौंका अध्यक्ष सहित १०७ जनाको सामूहिक राजीनामा, पार्टी नीति र व्यवहारमा विचलन आएको आरोप


काठमाडौं, असार ५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष नवराज सिम्खडासहित १०७ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्। पार्टी आफ्नो घोषित नीति, सिद्धान्त र विचारबाट विचलित हुँदै गएको तथा भनाइ र व्यवहारमा एकरूपता नरहेको निष्कर्षसहित उहाँहरूले संयुक्त राजीनामा दिनुभएको हो।

जिल्ला अध्यक्ष सिम्खडाले शुक्रबार एक वक्तव्य जारी गर्दै राप्रपाको वर्तमान राजनीतिक दिशा र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफूहरूसहित विभिन्न तहमा आबद्ध नेता–कार्यकर्ताले पार्टी छाड्ने निर्णय गरेको जानकारी दिनुभयो। वक्तव्यमा भनिएको छ, ‘राप्रपा आफ्नो नीति, सिद्धान्त र विचारबाट विमुख हुँदै गएको तथा भनाइ र गराइमा एकरूपता नरहेको कारण राप्रपा काठमाडौंबाट संयुक्त राजीनामा प्रस्तुत गरेका छौँ।’

यसअघि अध्यक्ष सिम्खडाको अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको बैठकले समेत पार्टीबाट अलग हुने निर्णय गरेको बताइएको छ। राजीनामा दिनेहरूमा राप्रपा काठमाडौं महानगर समितिका अध्यक्ष केदारबहादुर धमलासमेत रहनुभएको छ। राजीनामा दिएका नेता तथा कार्यकर्ताले आजकै मितिदेखि पार्टीसँगको औपचारिक सम्बन्ध अन्त्य गरी स्वतन्त्र रूपमा रहने निर्णय गरेको जनाएका छन्। यद्यपि पार्टी परित्याग गरे पनि आफूहरू मूल वैचारिक मान्यता र सिद्धान्तबाट विचलित नहुने उनीहरूको भनाइ छ।

यो समूह राप्रपाका पूर्व वरिष्ठ नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा गठन हुन लागेको नयाँ राजनीतिक दलमा आबद्ध हुने तयारीमा रहेको बुझिएकाे छ ।

राप्रपाको राजधानी केन्द्रित संगठनमै एकैपटक ठूलो संख्यामा नेता–कार्यकर्ताले पार्टी छाड्ने निर्णय गरेपछि यस घटनालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।