जनता टाइम्स

५ असार २०८३, शुक्रबार १४:४८

रास्वपाको महाधिवेशनमा केपी ओली नजाने, रविको फोनको प्रतिक्षामा गगन–प्रचण्ड


काठमाडौं, असार ५ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नजाने हुनुभएको छ । रास्वपाले पहिलो महाधिवेशनमा शुभकामना मन्तव्यका लागि निमन्त्रणा गरेकोमा एमाले अध्यक्ष ओली नजाने उहाँको सचिवालयले जनाएको छ ।

एमाले अध्यक्ष ओली रास्वपाको महाधिवेशनमा शुभकामना मन्तव्यका लागि नजाने सचिवालय प्रमुख एमाले केन्द्रीय सदस्य निरुदेवी पालले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीबाट अध्यक्षको साटो अरू कोही व्यक्ति जानेभ एपनि निर्णय भइसकेको छैन ।

रास्वपा सभापति रवि लामिछानेले दलका नेताहरुलाई निमन्त्रणा गरेको पत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले पठाउनु भएको थियो । रास्वपाले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा लगायतका दललाई निमन्त्रण गरेको छ ।

रास्वपा महाधिवेशनमा एमाले अध्यक्ष ओलीले नजाने निर्णय लिँदा कांग्रेस सभापति थापा र नेकपाका संयोजक प्रचण्ड अनिर्णित हुनुहुन्छ । दुवै नेता रवि लामिछानेको फोन आए जाने, अन्यथा अरु पठाउने योजनामा रहनुभएको छ 

रास्वपाको निमन्त्रणमा कांग्रेस सभापति गगन थापा भने रवि लामिछानेको फोन आए जाने, नआए नजाने भन्दै निकटसँग परामर्श गरिरहनुभएको छ । सोही कारण महाधिवेशनमा शुभकामनाका लागि जाने कि नजाने भन्ने निर्णय सभापति थापाले गरिनसकेको सचिवालयले बताएको छ ।

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि जाने निर्णयमा पुगिसक्नुभएको छैन । स्वास्थ्यमा अनुकूल रहे आफैं जाने नभए अरु पठाउने योजनामा उहाँ रहनुभएको छ । प्रचण्ड पनि रास्वपा सभापति रवि लामिछानेको फोन आएमा आफै जाने अन्यता अरु नेता पठाउने योजनामा रहनुभएको सेतले बताएको छ ।