जनता टाइम्स

५ असार २०८३, शुक्रबार १८:२३

काठमाडौं जिल्ला अदालतबाट पनि रवि लामिछानेमाथिको सङ्गठित अपराध अभियोग फिर्ता, सहकारी ठगी मुद्दा भने यथावत्


काठमाडौं, असार ५ । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश आत्मदेव जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग हटाउन आदेश दिएको हो।

यसका लागि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सुमन खनाललगायतको जाहेरीका आधारमा दर्ता भएको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा अभियोगपत्र संशोधन गर्न अदालतमा निवेदन दिएको थियो। अदालतले उक्त निवेदन स्वीकार गर्दै सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको हो।

यद्यपि, अदालतले लामिछानेविरुद्धको सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् कायम राखेको छ। अब काठमाडौं जिल्ला अदालतमा उहाँविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दाको मात्रै सुनुवाइ अघि बढ्नेछ।

यसअघि पनि देशका अन्य जिल्ला अदालतमा दायर भएका सहकारी ठगीसम्बन्धी मुद्दामा सरकारको अनुरोधपछि सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता भइसकेको थियो। काठमाडौं जिल्ला अदालतको पछिल्लो आदेशसँगै लामिछानेविरुद्ध दर्ता भएका सहकारीसम्बन्धी मुद्दाहरूमा सङ्गठित अपराधको अभियोग हटाउने क्रमले निरन्तरता पाएको छ।

तर, सहकारीको रकम अपचलन तथा ठगीसम्बन्धी मूल अभियोग भने कुनै पनि अदालतबाट फिर्ता नभएको र ती मुद्दाहरूको न्यायिक प्रक्रिया यथावत् जारी रहेको छ।