जनता टाइम्स

५ असार २०८३, शुक्रबार २१:२४

प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ


काठमाडौं,  असार ५ ।गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सदस्य भुवनबहादुर सुनारले सोध्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिनुभयो । नेपाल प्रहरीभित्र दलित सेल कार्यान्वयनमा ल्याइएको पनि उहाँले सुनाउनुभयो ।

प्रतिवेदनका आधारमा विश्वकर्मामाथि कुटपिट भएको नदेखिएको गृहमन्त्री गुरुङले बताउनुभयो । यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र नयाँ विषय आएपछि फेरि जानकारी गराइने उहाँको प्रतिबद्धता थियो ।

बैठकमा राष्ट्रियसभा सदस्य सुनारले जातका आधारमा विभेद भइरहेका विषयमा जिज्ञासा राख्नुभएको थियो । अन्तरजातीय विवाहकै कारण हत्या, कुटपिट भइरहेकोतर्फ उहाँले मन्त्री गुरुङको ध्यानाकर्षण गराउनुभयो ।

टेबल, कुर्सी नभएको हिरासतमा ७ फिटमाथि पुगेर कसरी आत्महत्या गरेको हुनसक्छ भनी सांसद सुनारले जिज्ञासा राख्नुभएको थियो ।