जनता टाइम्स

५ असार २०८३, शुक्रबार २१:४६

पार्टीको नीति निर्माण र निर्णय प्रक्रियालाई थप तथ्यपरक तथा अनुसन्धानमा आधारित बनाउँछाैँ  : केपी ओली 


काठमाडौं, असार ५ । नेकपा (एमाले)को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान (INSPIRE) को नवगठित निर्देशक समिति र निवर्तमान निर्देशक समितिबीच परिचयात्मक तथा समीक्षात्मक छलफल सम्पन्न भएको छ। छलफलमा प्रतिष्ठानलाई थप अनुसन्धानमूलक, प्रभावकारी र नतिजामुखी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार छलफल कार्यक्रममा एमाले अध्यक्ष तथा  पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान निर्देशक समितिले आफ्नो कार्यकालमा सम्पादन गरेका नीतिगत अनुसन्धान र संस्थागत कार्यको प्रशंसा गर्नुभयो।

अध्यक्ष ओलीले निवर्तमान निर्देशक समितिका अध्यक्ष ईश्वर पोखरेलसहित सम्पूर्ण टोलीलाई धन्यवाद ज्ञापन गर्दै नवगठित निर्देशक समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले पार्टीको नीति निर्माण र निर्णय प्रक्रियालाई थप तथ्यपरक तथा अनुसन्धानमा आधारित बनाउन प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा अघिल्लो कार्यकालमा प्रतिष्ठानले गरेका नीतिगत अनुसन्धान, प्रकाशन तथा संस्थागत विकाससम्बन्धी प्रगति विवरण प्रस्तुत गरिएको थियो। निवर्तमान निर्देशक समितिका सदस्यहरू प्रदीप ज्ञवाली, डा. युवराज खतिवडा, डा. विष्णु उप्रेती, डा. अञ्जान शाक्य र योगेन्द्र ढकालले आफ्नो कार्यकालका अनुभव, उपलब्धि तथा भावी सुधारका विषयमा धारणा राख्नुभएको थियो।

प्रतिष्ठानको आगामी कार्यदिशा, नीतिगत प्राथमिकता र अनुसन्धानका क्षेत्रबारे केन्द्रित छलफलमा नवगठित निर्देशक समितिका अध्यक्ष विष्णु रिमालसहित सम्पूर्ण सदस्यहरूको सहभागिता रहेको थियो।

नयाँ निर्देशक समितिमा डा. युवराज खतिवडा, डा. नेत्र तिम्सिना, डा. योगेन्द्र गुरुङ र सहायक रथी (अवकाशप्राप्त) विनोद पाण्डे सदस्य रहनुभएको छ।

दुवै निर्देशक समितिका पदाधिकारी सहभागी बैठकले प्रतिष्ठानलाई नीति अध्ययन, अनुसन्धान र वैचारिक विकासको प्रभावकारी केन्द्रका रूपमा स्थापित गर्दै पार्टीको नीति निर्माण प्रक्रियालाई थप सुदृढ बनाउने साझा प्रतिबद्धता व्यक्त गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख आचार्यले जानकारी दिनुभयो।