काठमाडौं, असार ६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन भोलिदेखि सुरु हुँदैछ। तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
सार्वजनिक कार्यतालिका अनुसार असार ९ गते (मंगलबार) बिहान ८ः३० बजेदेखि मतदान सुरु हुनेछ। मतदान सम्पन्न भएपछि करिब दुई घण्टापछि मतगणना प्रारम्भ गरिने निर्वाचन कार्यतालिकामा उल्लेख गरिएको छ।
रास्वपाका नेता गणेश पराजुलीका अनुसार महाधिवेशनबाट १९ सदस्यीय पदाधिकारी चयन हुने व्यवस्था गरिएको छ। उहाँका अनुसार पार्टीमा एक जना सभापति, एक जना वरिष्ठ नेता, तीन जना उपसभापति (जसमध्ये एक जना महिला), दुई जना महामन्त्री, पाँच जना सहमहामन्त्री (जसमध्ये एक जना महिला), एक जना कोषाध्यक्ष, दुई जना सहकोषाध्यक्ष, एक जना प्रवक्ता तथा तीन जना सहप्रवक्ताको व्यवस्था रहनेछ।
उहाँका अनुसार सभापति, तीन जना उपसभापति, दुई जना महामन्त्री, पाँच जना सहमहामन्त्री, एक जना कोषाध्यक्ष तथा एक जना प्रवक्ता स्वतः पार्टी सचिवालय सदस्य रहनेछन्। बाँकी सचिवालय सदस्य भने सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो।
महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति गठन हुनेछ। यसमध्ये ९९ जना निर्वाचित हुनेछन् भने ५१ जना सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ। साथै, सातै प्रदेशका प्रदेश सभापतिहरू पदेन सदस्यका रूपमा केन्द्रीय समितिमा रहने व्यवस्था गरिएको उहाँले बताउनुभयो।
पार्टी स्थापनापछि पहिलो पटक आयोजना हुन लागेको यो महाधिवेशनलाई रास्वपाको संगठनात्मक सुदृढीकरण, नयाँ नेतृत्व चयन तथा भावी राजनीतिक कार्यदिशा तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। महाधिवेशनबाट चयन हुने नेतृत्वले आगामी दिनमा पार्टीको रणनीति, संगठन विस्तार तथा राष्ट्रिय राजनीतिक भूमिकालाई थप स्पष्ट दिशा दिने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्