जनता टाइम्स

७ असार २०८३, आईतवार ११:५७

रामेछापमा प्रभातफेरी, योग अभ्यास र प्रवचनसहित १२औँ विश्व योग दिवस मनाइयो


रामेछाप, असार ७ । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने मूल नारासहित १२औँ विश्व योग दिवस रामेछापको मन्थलीमा प्रभातफेरी, प्रवचन तथा योगका विभिन्न नमुना अभ्यास प्रदर्शन गर्दै मनाइएको छ।

जिल्लास्तरीय योग दिवस मूल समारोह समिति रामेछापको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी तथा योगप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा प्रभातफेरी (र्‍याली), योगको महत्वबारे प्रवचन तथा सहभागीहरूलाई योग र ध्यानका व्यावहारिक अभ्याससमेत गराइएको थियो।

योग दिवस मूल समारोह समितिका संयोजक एवं शिक्षा विकास तथा समन्वय इकाइ रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर केसी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

उहाँले योग र ध्यानले मानिसलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्नुका साथै जीवनशैली सुधार्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। नियमित योग अभ्यासले अन्य उपचार पद्धतिबाट सहजै निको हुन नसकेका रोगसमेत नियन्त्रण गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो। स्वस्थ जीवनका लागि योगलाई दैनिक जीवनको अभिन्न अंग बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष नवराज पथिकले योग, ध्यान र आयुर्वेदलाई स्वस्थ समाज निर्माणको महत्वपूर्ण आधारका रूपमा विकास गर्न स्थानीय तहदेखि समुदायसम्म यसको पहुँच विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले चिकित्सालयले नि:शुल्क सेवा दिन भएकाेले स्वास्थ्य उपचार सेवा लिन पनि आह्वान गर्नुभयाे ।

कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका डा. उत्तम गैरेले आयुर्वेदीय उपचार पद्धति, योग र ध्यानको महत्वबारे जानकारी गराउनुभयो। आधुनिक जीवनशैलीका कारण बढ्दै गएका नसर्ने रोगको रोकथाम तथा मानसिक तनाव व्यवस्थापनमा योग र आयुर्वेद प्रभावकारी माध्यम बन्न सक्ने उहाँले बताउनुभयो।

कार्यक्रममा योग प्रशिक्षकहरूले विभिन्न आसन, प्राणायाम तथा ध्यानका नमुना अभ्यास प्रस्तुत गर्नुभएको थियो। सहभागीहरूले योगलाई दैनिक जीवनमा अपनाउने प्रतिबद्धता व्यक्त गर्दै यस्ता कार्यक्रमले स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।