काठमाडौं, असार ७ । वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह संसद्मा अनुपस्थित रहने तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन चितवन गएकाे विषयलाई लिएर टिप्पणी गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले ‘सिंहदरबारबाट छेउमै रहेको संसद् नजाने प्रधानमन्त्री बालेन शाह, चितवनचाहिँ पुग्नेछन्’ भन्दै प्रधानमन्त्रीको प्राथमिकतामाथि प्रश्न उठाउनुभएको हो।
पाण्डेले रास्वपाको चार वर्षे राजनीतिक यात्रालाई उल्लेख गर्दै पार्टी स्थापना हुँदा धेरैले पत्याउन नसकेको, कतिपयले उपहास गरेको र अवरोध सिर्जना गर्न खोजेको स्मरण गर्नुभएको छ। समयले सबैलाई समान धरातलमा ल्याइदिने भन्दै उहाँले राजनीतिक उतारचढावलाई स्वाभाविक प्रक्रियाका रूपमा चित्रण गर्नुभएको छ।
उहाँले कुनै पनि सरकार जितको उन्माद, अहंकार, अराजकता र संवैधानिक व्यवस्थाप्रतिको बेवास्ताका कारण लामो समय टिक्न नसक्ने उल्लेख गर्दै रास्वपा पनि त्यसको अपवाद हुन नसक्ने टिप्पणी गर्नुभएको छ। नेपालको संविधानअनुसार सरकार पार्टीले सञ्चालन गर्ने नभई पार्टीले सरकार बनाउने व्यवस्था रहेको स्मरण गराउँदै पाण्डेले आफूले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालदेखि नै ‘डायनासोर आफ्नै पुच्छरको भारका कारण लोप भएको’ उदाहरण दिँदै शक्तिको असन्तुलनले संस्थालाई कमजोर बनाउने चेतावनी दिँदै आएको उल्लेख गर्नुभएको छ।
रास्वपाका सभापति रवि लामिछानेले महाधिवेशनको पूर्वसन्ध्यामा चितवनबाट ‘रास्वपा लोकतन्त्र, संविधान, जनअधिकार, सुशासन र विकासप्रति कटिबद्ध रहेको तथा यी विषयमा कुनै सम्झौता नहुने’ सन्देश दिएको उल्लेख गर्दै पाण्डेले त्यसलाई दूरगामी महत्वको अभिव्यक्तिका रूपमा लिनुभएको छ। उहाँले चार वर्षअघि स्थापना भएको रास्वपाले प्रथम महाधिवेशन भव्य रूपमा आयोजना गरिरहेको उल्लेख गर्दै दशकौँ पुरानो नेपाली कांग्रेस भने अझै महाधिवेशनको आन्तरिक विवाद र तयारीमै अल्झिएको टिप्पणी पनि गर्नुभएको छ।
अन्त्यमा पाण्डेले रास्वपाका नेता, कार्यकर्ता, सदस्य तथा शुभेच्छुकहरूलाई प्रथम महाधिवेशनको शुभकामना व्यक्त गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्