काठमाडौं, असार ७ । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका अवसरमा शुभकामना व्यक्त गर्दै सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारविरुद्धको प्रतिबद्धता व्यवहारमै स्थापित हुने गरी काम गर्न आग्रह गर्नु भएकाे छ ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उहाँले झण्डै सात वर्षअघि चितवनमै सुशासन र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा आफूले आक्रमण भोग्नुपरेको र रवि लामिछानेले हिरासतको पीडा सहनुपरेको प्रसङ्ग स्मरण गर्नुभएको छ।
उहाँले त्यही ऐतिहासिक चितवनमा आज रवि लामिछानेको नेतृत्वमा रहेको देशको सबैभन्दा ठूलो पार्टीको राष्ट्रिय महाधिवेशन भइरहेको उल्लेख गर्दै सात वर्षको अवधिमा देशको राजनीतिक परिस्थितिमा परिवर्तन आएको टिप्पणी गर्नुभएको छ।
शाहीले सन्देशमा राज्यसत्ता र शक्तिको केन्द्रमा पुगेपछि पनि उठाइएका एजेन्डा, आदर्श र प्रतिबद्धता परिवर्तन हुन नहुनेमा जोड दिनुभएको छ। उहाँले सुशासन, पारदर्शिता, जवाफदेहिता तथा भ्रष्टाचारविरुद्धको संघर्ष भाषण र कागजमा मात्र सीमित नरही व्यवहार र कार्यान्वयनमा दृढतापूर्वक स्थापित हुनुपर्ने उल्लेख गर्नुभएको छ।
उहाँले जनताले प्रत्यक्ष देख्न, महसुस गर्न र अनुभूति गर्न सक्ने परिवर्तनको सुरुआत यही महाधिवेशनबाट होस् भन्ने शुभेच्छा व्यक्त गर्दै भ्रष्टाचारमुक्त नेपाल र सुशासनयुक्त समाज निर्माणको सङ्कल्प अझ सशक्त बन्ने विश्वास व्यक्त गर्नुभएको छ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन शनिबार चितवनमा सुरु भएको छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको भावी राजनीतिक दिशा र संगठनात्मक संरचनाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्