जनता टाइम्स

७ असार २०८३, आईतवार १६:१०

रास्वपा आन्दोलनबाट संस्थागत राजनीतिमा प्रवेश गर्दैछ, रास्वपाको महाधिवेशन नेपालकै ‘पुनर्जागरणको आधारस्थम्भ : डा. स्वर्णिम वाग्ले


काठमाडौं, असार ७ । रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले पार्टीलाई आन्दोलनको चरणबाट संस्थागत राजनीतिक शक्तिको रूपमा रूपान्तरण गर्ने दिशामा अघि बढ्ने बताउनु भएकाे छ ।

चितवनमा जारी महाधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले रास्वपा अब ‘आन्दोलनको पार्टी’बाट ‘संस्थागत राजनीति गर्ने पार्टी’मा प्रवेश गर्ने चरणमा पुगेको स्पष्ट पार्नुभयाे । उहाँले नयाँ पुस्ताले केवल आन्दोलन मात्र होइन, शासन पनि प्रभावकारी रूपमा गर्न सक्छ भन्ने सन्देश दिन खोजिएको उल्लेख गर्दै क्षमता नै सफलताको प्रमुख आधार बन्नुपर्नेमा जोड दिनुभयाे ।

वाग्लेले पहुँच होइन क्षमता निर्णायक हुनुपर्ने बताउँदै बालबालिकाको भविष्य आर्थिक अवस्थाले होइन प्रतिभाले निर्धारण गर्न सक्ने प्रणाली निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयाे । उहाँले आत्मविश्वासी नेपाल निर्माण गर्ने लक्ष्यसहित देशले कसैको कृपामा होइन, आफ्नै क्षमतामा भरोसा गर्ने अवस्था बनाउनुपर्ने धारणा राख्नु भयाे ।

उहाँका अनुसार इतिहासले प्रत्येक पुस्तालाई अवसर दिने गर्छ र अहिलेको पुस्ताले त्यो अवसर प्राप्त गरेको छ। उहाँले रास्वपाको यो महाधिवेशन नेपालकै ‘पुनर्जागरणको आधारस्थम्भ’ बन्न सक्ने विश्वास व्यक्त गरे।

उहाँले आन्दोलनलाई संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्दै निराशालाई आशामा, आक्रोशलाई निर्माणमा र विद्रोहलाई रूपान्तरणमा बदल्नुपर्ने आवश्यकता औँल्याउनु भयाे ।

महाधिवेशनमा नेताहरूले पार्टीको आगामी राजनीतिक दिशा, संगठनात्मक संरचना तथा नेतृत्व चयनसम्बन्धी विषयमा छलफल गरिरहेका छन्।