जनता टाइम्स

७ असार २०८३, आईतवार १७:१७

सुशासन र समाज रूपान्तरणका एजेन्डामा रास्वपासँग सहकार्य गर्न तयार छौँ : वर्षमान पुन 


काठमाडौं, असार ७ । नेकपाका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सुशासन, पारदर्शिता र समाज रूपान्तरणका साझा एजेन्डामा सहकार्य गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ।

चितवनमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको राजनीतिक व्यवस्था ठूलो त्याग, बलिदान र लामो संघर्षको जगमा स्थापित भएको उल्लेख गर्दै प्राप्त उपलब्धिको रक्षा गर्नु सबै राजनीतिक शक्तिको साझा दायित्व भएको बताउनुभयो।

‘नेपाली राजनीतिक परिवर्तनको यात्रा सहज थिएन। लामो संघर्ष र बलिदानपछि आजको अवस्था सम्भव भएको हो,’ उहाँले भन्नुभयो, ‘यस उपलब्धिको संरक्षण गर्दै लोकतान्त्रिक व्यवस्थालाई थप सुदृढ बनाउनु अहिलेको आवश्यकता हो।’

पुनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र रास्वपा दुवै स्थापित राजनीतिक निरन्तरताको क्रमभङ्ग गर्दै उदाएका राजनीतिक शक्ति भएको उल्लेख गर्नुभयो। उहाँले दुवै दल संघर्षका माध्यमबाट स्थापित भएको भन्दै परिवर्तन र सुधारका एजेन्डामा समान उद्देश्य रहेको धारणा राख्नुभयो।

उहाँले सुशासन, पारदर्शिता, जवाफदेहिता र राज्य सञ्चालनमा विधिको शासन स्थापित गर्ने विषयमा दुवै दलको दृष्टिकोण मिल्ने उल्लेख गर्दै यस्ता विषयमा सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। ‘सुशासन, पारदर्शिता र थिति बसाउने विषयमा हाम्रो र रास्वपाको साझा धारणा छ। यस्ता एजेन्डामा हामी सहकार्य गर्न सधैँ तयार छौँ,’ उहाँले भन्नुभयो।

सम्बोधनका क्रममा पुनले राजनीतिक परिवर्तन र सुधारका नाममा संविधानको सीमाभन्दा बाहिर जान नहुनेमा पनि जोड दिनुभयो। उहाँले संविधानले सुनिश्चित गरेका उपलब्धिको संरक्षण गर्दै त्यसैको दायराभित्र रहेर राजनीतिक प्रतिस्पर्धा, सुधार र लोकतान्त्रिक अभ्यासलाई अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। ‘संविधानभन्दा बाहिर जाने कुनै आवश्यकता छैन,’ उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाउँदै परिवर्तनका एजेन्डालाई संस्थागत गर्न सबै राजनीतिक दल जिम्मेवार हुनुपर्छ।’