काठमाडौं, असार ७ । नेकपा एमाले नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिँदै लोकतान्त्रिक संस्थाप्रति सम्मान कायम राख्न र न्यायालय, राष्ट्रपति तथा संसद्लाई कमजोर पार्ने गतिविधिबाट टाढा रहन सुझाव दिनुभएको छ।
चितवनमा जारी महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले आफू आलोचना गर्न नभई शुभकामना दिन आएको उल्लेख गर्दै रास्वपाका केही प्रारम्भिक गतिविधिले भने केही प्रश्न उठाएको धारणा व्यक्त गर्नुभयो। उहाँले न्यायपालिका, राष्ट्रपति संस्था र संसद् लोकतान्त्रिक व्यवस्थाका महत्वपूर्ण आधार भएकाले ती संस्थाहरू कमजोर भए जनमतको स्थायित्व पनि कमजोर बन्न सक्ने बताउनुभयो।
‘म यहाँ आलोचनाभन्दा शुभकामना दिन आएको हुँ। तर प्रारम्भिक केही गतिविधिले केही प्रश्न खडा गरेका छन्,’ उहाँले भन्नुभयो, ‘न्यायालय, राष्ट्रपति संस्था र संसद् कमजोर भए जनताको आवाज पनि कमजोर हुन्छ, त्यस अवस्थामा जनमत सधैँ कायम रहँदैन।’
ज्ञवालीले रास्वपाले सार्वजनिक गरेको वाचापत्र र व्यवहारबीच कतिपय विषयमा असंगति देखिएको टिप्पणी गर्दै ती घटना अपवादका रूपमा सीमित हुनुपर्ने धारणा राख्नुभयो। उहाँले महाधिवेशनपछि रास्वपाको नेतृत्वमा नेपालको लोकतन्त्र सुरक्षित रहेको स्पष्ट सन्देश प्रवाह हुनुपर्नेमा जोड दिनुभयो। ‘आफ्नै वाचापत्रसँग मेल नखाने केही घटना भएका छन्। ती अपवादमा सीमित रहून् र रास्वपाको हातमा नेपालको लोकतन्त्र सुरक्षित छ भन्ने विश्वास जनतामा स्थापित होस्,’ उहाँले भन्नुभयो।
महाधिवेशनको सन्दर्भमा उहाँले नेतृत्व चयनभन्दा पनि पार्टीको भावी राजनीतिक नीति, सिद्धान्त र कार्यदिशा निर्धारण बढी महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। सभापतिको विषयमा भने रवि लामिछाने सर्वसम्मत भइसकेको जस्तै अवस्था रहेको भन्दै नेतृत्वभन्दा नीतिगत दिशामा महाधिवेशनले विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
ज्ञवालीले सभापतिमा रवि लामिछाने सर्वसम्मत हुने संकेत गर्नासाथ सभाहलमा उपस्थित सहभागीहरूले ताली बजाएका थिए। त्यसक्रममा कार्यक्रममा सहभागी रहेका वरिष्ठ नेता बालेन शाहले पनि ताली बजाएर प्रतिक्रिया जनाउनुभएको थियो।














प्रतिक्रिया दिनुहोस्