जनता टाइम्स

७ असार २०८३, आईतवार १८:०२

रास्वपा महाधिवेशनमा गगन थापाको सुझाव : आफ्नै नेतालाई पनि प्रश्न गर्ने संस्कार विकास गर्नुस्


काठमाडौं, असार ७ । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तालाई आफ्नै नेतृत्वप्रति अन्धसमर्थन नगर्न र गल्ती हुँदा प्रश्न गर्ने लोकतान्त्रिक संस्कार विकास गर्न सुझाव दिनुभएको छ।

चितवनमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले कुनै पनि राजनीतिक दलमा नेता ‘भगवान्’ वा ‘बा’ बन्न नहुने उल्लेख गर्दै नेतृत्वलाई निरन्तर जवाफदेही बनाउने जिम्मेवारी कार्यकर्ताकै हुने बताउनुभयो।

रास्वपाका प्रतिनिधि तथा कार्यकर्तालाई सम्बोधन गर्दै थापाले आफ्नै पार्टीभित्र पनि प्रश्न गर्ने साहस कायम राख्न आग्रह गर्नुभयो। ‘तपाईंहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले आफ्ना नेताहरूलाई भगवान् र बा बनाएर गल्ती गरिसक्यौँ। तपाईंहरूले त्यो गल्ती नदोहोर्याउनुहोस्,’ उहाँले भन्नुभयो।

उहाँले नेतृत्वबाट गल्ती हुँदा त्यसलाई स्वीकार गराउन र सच्याउन आफ्नै पार्टीका कार्यकर्ताले आवाज उठाउन सक्नुपर्ने धारणा राख्नुभयो। अरू दलको आलोचना गर्नुभन्दा पहिले आफ्नै संगठनभित्रका कमजोरी औँल्याउने संस्कार लोकतन्त्रका लागि आवश्यक रहेको उहाँको भनाइ थियो।

नेपाली कांग्रेसको अनुभव स्मरण गर्दै थापाले आफ्नो पार्टीले समयमै आत्मसमीक्षा गर्न नसक्दा राजनीतिक रूपमा क्षति बेहोर्नुपरेको स्वीकार गर्नुभयो। ‘हामीले ढिला गर्‍यौँ, त्यसको सजाय पनि भोग्यौँ। केही समयअघि नै हाम्रो पार्टी दास र लासको पार्टी होइन भनेर दृढतापूर्वक भन्न सक्नुपर्थ्यो, तर सकेनौँ,’ उहाँले भन्नुभयो।

उहाँले कांग्रेसको अनुभवबाट रास्वपाले शिक्षा लिनुपर्ने उल्लेख गर्दै आफ्नै नेतृत्वलाई पनि आवश्यक पर्दा प्रश्न गर्ने आँट र साहस देखाउन आग्रह गर्नुभयो। ‘गल्ती हुँदा अरू पार्टीलाई औँला उठाउनुभन्दा पहिले आफ्नै पार्टी र आफ्नै नेतालाई भन्न सक्नुपर्छ। त्यही लोकतान्त्रिक संस्कारले पार्टीलाई बलियो बनाउँछ,’ उहाँले भन्नुभयो।

थापाले लोकतान्त्रिक राजनीतिक दलको बल नेतृत्वको व्यक्तिपूजामा नभई आलोचना, आत्मसमीक्षा र आन्तरिक लोकतन्त्रमा निर्भर रहने धारणा पनि व्यक्त गर्नुभयो।