काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन्द्र शाहसँग सरकार सञ्चालनबारे भएको सहमति अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाउँदै पाँच वर्षसम्म सरकारको नेतृत्व बालेन्द्र शाहले नै गर्ने स्पष्ट पार्नुभएको छ।
चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै सभापति लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी प्रधानमन्त्री शाहकै रहेको उल्लेख गर्दै आफूले त्यसमा पूर्ण साथ दिने बताउनुभयो।
उहाँले चुनावअघि नै सरकार सञ्चालनबारे पार्टीभित्र स्पष्ट समझदारी भएको उल्लेख गर्दै फुटबल खेलको उदाहरण दिँदै भन्नुभयो, ‘सरकार सञ्चालन गर्न चुनावअघि नै पार्टीका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुर्याइसकेका छौँ। अब भटाभट गोल हान्ने जिम्मा सम्माननीय प्रधानमन्त्री बालेनजीको हो। झुक्किएर त्यो बल मेरो खुट्टामा आइपुग्यो भने पनि म फेरि उहाँकै खुट्टामा पास गर्नेछु।’
लामिछानेको उक्त अभिव्यक्तिपछि महाधिवेशन हलमा सहभागीहरूले ताली बजाएका थिए भने प्रधानमन्त्री बालेन्द्र शाह मुस्कुराएर प्रतिक्रिया जनाउनुभएको थियो।
सभापति लामिछानेले कुनै पनि राजनीतिक दल संकटमा पर्दा त्यसको प्रभाव समग्र मुलुकमा पर्ने उल्लेख गर्दै प्रमुख राजनीतिक दलहरूले आफ्ना आन्तरिक समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
उहाँले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) भित्र देखिएका समस्याप्रति संकेत गर्दै ती दलहरूले आन्तरिक विवाद समाधान गर्नुपर्ने सुझाव दिनुभयो। ‘सबै राजनीतिक दल ठीक हुनुपर्छ। नेपाली कांग्रेस र एमालेजस्ता ठूला दलभित्र केही अप्ठ्यारा देखिएका छन्। त्यो उनीहरूको मात्रै समस्या होइन, समाधान नभए देशकै समस्या बन्न सक्छ। मेरो शुभकामना छ, उहाँहरूले आफ्ना दलभित्रका अप्ठ्यारा समाधान गर्नुहोस्,’ उहाँले भन्नुभयो।
लामिछानेले रास्वपाका नेता तथा कार्यकर्तालाई पनि पद र नेतृत्वको आकांक्षाका नाममा गुटबन्दी नगर्न आग्रह गर्नुभयो। संस्थापक सभापतिको हैसियतले पार्टीभित्र विभाजन, वैमनस्य वा आन्तरिक द्वन्द्वको अवस्था आउन नदिन सबैलाई सचेत रहन आह्वान गर्नुभयो। ‘नेता बन्ने नाममा गुटबन्दी नगर्नुहोस्। महाधिवेशनमा हेल्मेट हानाहान भयो, कसैको टाउको फुट्यो भन्ने समाचार मैले सुन्न नपरोस्। हाम्रो प्रतिस्पर्धा विचारमा होस्, व्यक्तिविरोधमा होइन,’ उहाँले भन्नुभयो।
उहाँले रास्वपाको पहिलो महाधिवेशनले पार्टीलाई थप संस्थागत, अनुशासित र एकताबद्ध बनाउँदै आगामी राजनीतिक यात्राको स्पष्ट मार्ग तय गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्