जनता टाइम्स

७ असार २०८३, आईतवार १८:३५

रास्वपा महाधिवेशनमा बाबुराम भट्टराई : रास्वपाको उदय वैकल्पिक राजनीतिक अभियानको उपलब्धि हो, म कुनै ललिपपको पछि लागेको छैन


काठमाडौं, असार ७ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई आफूले लामो समयदेखि अघि बढाउँदै आएको वैकल्पिक राजनीतिक अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बताउनुभएको छ।

चितवनमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै उहाँले रास्वपासँग आफ्नो निकटतालाई लिएर भइरहेका टिप्पणीप्रति असन्तुष्टि जनाउँदै आफू कुनै पद, लाभ वा ‘ललिपप’को आशामा नलागेको स्पष्ट पार्नुभयो। ‘हाम्रो समाजमा चेतनाको स्तर अझै कमजोर छ। मैले रास्वपाबाट के ललिपप पाउन लागेँ भन्ने टिप्पणी सुनिरहेको छु,’ उहाँले भन्नुभयो, ‘सारा जीवन संघर्षमा बिताएको मान्छे म, के ललिपप खाने? जनताको विश्वासले प्रधानमन्त्री भइसकेको मान्छे, अब मलाई के प्राप्त गर्नु छ र?’

उहाँले आफ्नो राजनीतिक यात्राको उद्देश्य व्यक्तिगत लाभ नभई देशमा सुशासन, समृद्धि र वैकल्पिक राजनीतिक संस्कार स्थापित गर्नु रहेको बताउनुभयो। भट्टराईले आफू र आफ्नो पुस्ताले नेपालको राजनीतिक परिवर्तनका लागि गरेको संघर्षको निरन्तरताका रूपमा नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरू उदाएको उल्लेख गर्दै रास्वपाले त्यस अभियानलाई अगाडि बढाएको धारणा राख्नुभयो।

आफू देशकाे लागि मर्न हिँडेकाे मान्छे भएकाे बताउँदै उहाँले आफ्ना कुनै पनि व्यक्तिगत इच्छा नभएकाे स्पष्ट पार्नुभयाे । ‘म ललिपपका लागि होइन, देशका सबै नागरिकले सुशासन र समृद्धिको फल प्राप्त गरून् भन्ने उद्देश्यले हिँडेको हुँ,’ उहाँले भन्नुभयो, ‘म र मभन्दा अघिल्लो पुस्ताले राजनीतिक परिवर्तनका लागि योगदान दिएका थियौँ। त्यसैको पछिल्लो कडीका रूपमा वैकल्पिक राजनीति अगाडि बढेको छ, र त्यसको अग्रणी शक्तिका रूपमा रास्वपा उदाएकोमा म बधाई व्यक्त गर्दछु।’

उहाँले नयाँ पुस्ताले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै सुशासन, जवाफदेहिता र समृद्धिको लक्ष्य हासिल गर्न सक्ने विश्वास व्यक्त गर्दै रास्वपाको प्रथम महाधिवेशन सफलताको शुभकामनासमेत व्यक्त गर्नुभयो।