काठमाडौं, असार ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न राजनीतिक धारका मतदाताको समर्थन प्राप्त गरेको उल्लेख गर्दै राजसंस्थाको पक्षमा रहेका मतदाताले पनि रास्वपाप्रति विश्वास व्यक्त गरेको दाबी गर्नुभएको छ।
चितवनमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले राजसंस्थाको पक्षमा उभिने दलका रूपमा राप्रपा हुँदाहुँदै पनि राजावादी मतदाताले रास्वपालाई मतदान गरेको बताउनुभयो। ‘राजा चाहिन्छ भन्नेहरूको मत पनि तपाईंहरूले प्राप्त गर्नुभएको छ। राप्रपा हुँदाहुँदै पनि बालेनले राजा ल्याउँछ भन्ने आशा गरेर धेरैले तपाईंहरूलाई मत दिएका छन्,’ उहाँले भन्नुभयो।
लिङ्देनले यसले रास्वपामाथि जनताको ठूलो अपेक्षा र जिम्मेवारी थपिएको उल्लेख गर्दै मतदाताको विश्वास र आकांक्षालाई सम्बोधन गर्न आग्रह गर्नुभयो।
उहाँले नेपालको वर्तमान समस्या केवल नेतृत्वमा मात्र सीमित नरहेको भन्दै संविधान र विद्यमान संवैधानिक व्यवस्थामा पनि सुधार आवश्यक रहेको धारणा राख्नुभयो। ‘समस्या नेतामा मात्रै छैन, संविधान र संवैधानिक व्यवस्थामा पनि छ,’ उहाँले भन्नुभयो, ‘यो संविधानमा आवश्यक सुधार नगरी देशले अपेक्षित गति लिन सक्दैन। तपाईंहरूसँग ऐतिहासिक अवसर छ, त्यसलाई सही ढंगले उपयोग गर्नुपर्छ।’
उहाँले रास्वपाको प्रथम महाधिवेशनले मुलुकको राजनीतिक सुधार, सुशासन र जनअपेक्षाअनुसारको राजनीतिक दिशाबारे स्पष्ट मार्गचित्र तय गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्