चितवन, असार ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र आज बिहान ८ः३० बजेदेखि चितवनस्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सुरु हुँदैछ। बन्दसत्रसँगै पार्टीको नयाँ नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ।
प्रदर्शनी केन्द्रका तीन ठूला हलमध्ये दुई हलमा बन्दसत्र सञ्चालनका लागि तयारी गरिएको छ भने अर्को हलमा प्रतिनिधिहरूका लागि खाजा तथा खानाको व्यवस्था गरिएको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको प्रारम्भमा अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। उक्त प्रतिवेदनमाथि छलफल गरिने कार्यक्रम तय गरिएको छ।
त्यसपछि बिहान ९ बजे कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ भने त्यसमाथि पनि प्रतिनिधिहरूबीच छलफल हुनेछ। बिहान १० बजे महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। त्यसपछि सहमहामन्त्रीले पार्टी विधानमाथिको छलफल सञ्चालन गरी अनुमोदन गराउने कार्यसूची रहेको छ।
बिहान ११ः४५ बजे पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। उक्त प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरिनेछ। त्यसपछि दिउँसो १२ः४५ बजे सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्नुका साथै आयोजक समितिले सम्पूर्ण जिम्मेवारी केन्द्रीय निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
दिउँसो १ बजे भोजनपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी दिँदै निर्वाचन तालिका सार्वजनिक गर्नेछ।
बन्दसत्रमा चार हजार २११ जना प्रतिनिधि, पर्यवेक्षक तथा स्वयंसेवक सहभागी हुनेछन्। महाधिवेशन अवधिभर प्रतिनिधिहरूका लागि सोही स्थलमा भोजनको व्यवस्था गरिएको छ ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज दिउँसो १ बजेदेखि उम्मेदवार मनोनयन फाराम वितरण सुरु हुनेछ। दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गरिनेछ भने साँझ ६ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिने कार्यक्रम छ।
यसपछि बेलुका ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता गर्न सकिनेछ। साँझ ७ बजेदेखि ९ बजेसम्म दाबी–विरोधमाथि जाँचबुझ गरिनेछ। राति ९ः१५ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने समय निर्धारण गरिएको छ भने अन्तिम उम्मेदवारको नामावली राति ११ बजे सार्वजनिक गरिने निर्वाचन तालिकामा उल्लेख छ।
निर्वाचन कार्यक्रमअनुसार असार ९ गते बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान हुनेछ। यस चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान गराइनेछ। मतदान सम्पन्न भएपछि करिब दुई घण्टाभित्र मतगणना गरी परिणाम सार्वजनिक गरिनेछ। आवश्यक परे त्यसपछि दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढाइने निर्वाचन आयोगले जनाएको छ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र शनिबार चितवनको गेष्टहाउस चौरमा सम्पन्न भएको थियो। बन्दसत्र र निर्वाचन प्रक्रियासँगै पार्टीले आफ्नो पहिलो निर्वाचित केन्द्रीय नेतृत्व चयन गर्ने तयारी गरेको छ।













प्रतिक्रिया दिनुहोस्