काठमाडौं, असार ८ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको बहशलाई सही ढंगबाट अघि बढाउन पार्टी पङ्तीलाई सार्वजनिक अपिल गर्नुभएको छ । उपमहासचिव भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै यस्तो अपिल गर्नुभएको हो ।
पार्टीमा अहिले देखिएको केही बहश गलत रहेको भन्दै भट्टराईले आफनै पार्टीभित्रको फरक बिचारप्रति बैरभाव राख़्नु एमालेले निर्माण गरेको सभ्यता र संस्कृतिको खिलाफ हुने निश्कर्षसमेत सुनाउनु भएको छ ।
एमालेजनमा निवेदन भन्दै भट्टराईले भन्नुभएको छ, ‘यतिवेला नेकपा एमालेमा दुईवटा बिचारकाबीचमा बहस भइरहेको छ । यो बहस पार्टी कमिटीमा मात्र सीमित नभएर सार्वजनिक संचार माध्यमसम्म पुगेको छ । बहसमा एमालेपंतीका अलवा सार्वजनिक टिप्पणीकार र बुद्धिजीवीहरूको समेत सहभागिता देखिन्छ ।’
यस्तै उहाँले बहसको एउटा पक्ष छ-पार्टीलाई वैचारिक, राजनीतिक, सांगठनिक तथा ब्यबहार, कार्यशैली, आचरण र नेतृत्वको व्यापक र बहुआयामिक पुनर्गठनमार्फत नेकपा एमालेको पुनर्जागरण भन्नुभएको छ ।
यस्तो छ भट्टराईको भनाई
एमालेजनमा निवेदन
यतिवेला नेकपा एमालेमा दुईवटा बिचारकाबीचमा बहस भइरहेको छ । यो बहस पार्टी कमिटीमा मात्र सीमित नभएर सार्वजनिक संचार माध्यमसम्म पुगेको छ । बहसमा एमालेपंतीका अलवा सार्वजनिक टिप्पणीकार र बुद्धिजीवीहरूको समेत सहभागिता देखिन्छ ।
बहसको एउटा पक्ष छ- पार्टीलाई वैचारिक, राजनीतिक, सांगठनिक तथा ब्यबहार, कार्यशैली, आचरण र नेतृत्वको व्यापक र बहुआयामिक पुनर्गठन मार्फ़त नेकपा एमालेको पुनर्जागरण ।
बहसको दोश्रो पक्ष छ- सबै पक्षमा यथास्थिति ।
दुवै पक्षका आफना तर्कहरू छन । राजनीतिक बहसलाई तर्क र तथ्यमा टेकेर नै संचालन गर्नु पर्दछ । नेकपा एमाले देशभक्त, लोकतान्त्रिक, प्रगतिशील तथा समाजवादीहरूको पार्टी हो । उपरोक्त मान्यता राख़्नेहरू केही पनि न कसैको एजेण्ट हुन सक्छन न कसैको दलाल ! राप्रपा, माओवादी, नेका, मधेशवादी जस्ता प्रतिस्पर्धी दलसंग समेत मिलेर चुनाव लडेको र अनेक पार्टीसंग सत्ता साझेदारी गरेको पार्टीले आफनै पार्टीभित्रको फरक बिचारप्रति बैरभाव राख़्नु एमालेले निर्माण गरेको सभ्यता र संस्कृतिको खिलाफ हुन्छ । राजनीतिक बहस र छलफलले पार्टीलाई कहिल्यै कमजोर बनाएको छैन ।
आफना बिचारका विरुद्ध उभिनुभएका मनमोहन अधिकारी, सीपी मैनाली लगायतका नेताहरूलाई मदन भण्डारीले कसैको दलाल वा एजेण्ट भन्नुभएन बरु वहाँहरूलाई पार्टीमा सम्माजनक स्थानमा राखेर सहकार्य गर्नुभयो । यो हो एमालेको संस्कृति । समयानुकुल पार्टी पुनर्गठन हुने नै छ । पुर्नगठित पार्टीमा सबैको सम्मान हुने छ । भिन्न भिन्न बिचार र मतकाबीचमा हार्दिकतापूर्ण सहकार्य हुनेछ । निषेधकारी व्यवहारको अन्त्य हुने छ । पार्टी सामुहिक र संस्थागत ढाँचामा चल्ने छ । तसर्थ: आजको बहसलाई राजनीतिक र वैचारिक दिशा दिन सम्पूर्ण एमालेजनमा म हार्दिक अनुरोध गर्दछु । ख्याल गरौ हामी जवजबादी हौ ! हामी मदन भण्डारीका उत्तराधिकारीहरू हौ !













प्रतिक्रिया दिनुहोस्