जनता टाइम्स

२ पुष २०७६, बुधबार १६:५४

लाइसेन्सको ट्रायलमा पनि नक्कली परीक्षार्थी


काठमाडौं, पुस २ । नेपालका युवा युवतीहरु कतिसम्म आफ्नै जीवनमा खेलवाड गर्छन भन्ने यथार्थ एउटा घटनाले बाहिर ल्याएको छ । आफ्नै ज्यानको सुरक्षामा ख्याल नगरी सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल परीक्षामा समेत भाडामा परीक्षार्थी खरिद गरेको घटना बाहिर आएपछि नेपाली युवा पुस्ताको यो मानसिकतालाई उजागर गरेको हो ।

प्रहरीले लाइसेन्स परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटको खडाचक्र नगरपालिका ७ घर भई काठमाडौं चावहिल बस्ने १९ वर्षीय वीरेन्द्र मल्ल र कालिकोटकै महावै गाउँपालिका ५ घर भई सुकेधारा बस्ने ३० वर्षीय दीपक शाही रहेका छन । उनीहरुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले मंगलबार गुर्जुधारास्थित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिबाट पक्राउ गरेको हो । उनीहरुले अर्काकै नामबाट ट्रायल दिने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त ड्राइभिङ सेन्टरबाट विभिन्न सामानहरु पनि बरामद गरेको छ । प्रहरीले २ थान ल्यापटप, १ थान प्रिन्टर, ११ थान नेपाली नागरिकताको नक्कली कार्ड, विभिन्न व्यक्तिको नागरिकता प्रमाणपत्र प्रयोग गरेर बनाइएको नक्कली नागरिकता ८ थान, नागरिकता बनाउन प्रयोग गरिने क्रिम पेपर ६ थान, जिल्ला प्रशासन कार्यालय लेखिएको पेपर १० थान बरादम गरेको हो । त्यसैगरी ट्रायल परीक्षाका लागि जारी गरिने फारम ३० थान, नेपाल सरकार गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँकेको छाप १ थान, शाखा अधिकृतको छाप १ थान, स्ट्याम्प प्याड २ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।