जनता टाइम्स

८ असार २०८३, सोमबार ०९:५०

विपद् व्यवस्थापनमा मानव अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह 


काठमाडौं, असार ८ । राष्ट्रिय मानव अधिकार आयोगले मनसुन प्रारम्भको पूर्वसन्ध्यामा विपद् व्यवस्थापनका क्रममा मानव अधिकारको संरक्षण र सुनिश्चितताबारे केन्द्रित परामर्श बैठक सम्पन्न गरेको छ।

आयोगका अध्यक्ष तपबहादुर मगरको अध्यक्षतामा आयोजित बैठकमा आयोगका सदस्य मनोज दुवाडी, आयोगका सचिव मुरारिप्रसाद खरेल, गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, विभिन्न विभागका महानिर्देशक, मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुख, तीनवटै सुरक्षा निकायका सम्बन्धित अधिकारी तथा प्रतिनिधि सहभागी भएका थिए।

यस्तै, सम्बन्धित सरकारी निकाय, विश्वविद्यालय, विज्ञ, नागरिक समाज, मानव अधिकार रक्षक तथा अन्य सरोकारवालाको पनि बैठकमा सहभागिता रहेको आयोगले जनाएको छ।

बैठकमा नेपाल सरकारका तर्फबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रदीपकुमार कोइरालाले विपद् व्यवस्थापनको समग्र अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो। आयोगका सहसचिव नवराज सापकोटाले विपद्का समयमा मानव अधिकार संरक्षणसँग सम्बन्धित विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो।

आयोगले मनसुन सुरु हुनुअघि विपद् व्यवस्थापनका सम्पूर्ण तयारीमा मानव अधिकारमैत्री दृष्टिकोण अपनाउन तथा सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त परामर्श बैठक आयोजना गरिएको जनाएको जनाउँदै साेही अनुसकाे काम गर्न आग्रह गरेकाे छ ।