रामेछाप, असार ८ । मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड २० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न नगरसभामा उपप्रमुख ईश्वरी बस्नेतले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
उपप्रमुख बस्नेतका अनुसार आगामी आर्थिक वर्षमा आन्तरिक आम्दानी र सञ्चित कोषसमेत गरी करिब ९ करोड ७० लाख रुपैयाँ आन्तरिक स्रोत परिचालन हुने अनुमान गरिएको छ। प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यम विकास तथा पूर्वाधार विकासलाई प्राथमिकताका साथ समेटिएको छ।
नगरसभामा चालु आर्थिक वर्ष २०८२/८३ को प्रगति विवरण प्रस्तुत गर्दै उपप्रमुख बस्नेतले चालु आवका लागि १ अर्ब ४ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार जेठ मसान्तसम्म चालुतर्फ ४७ करोड ९३ लाख रुपैयाँ र पुँजीगततर्फ ११ करोड १३ लाख रुपैयाँ गरी कुल ५९ करोड ७ लाख रुपैयाँ खर्च भएको छ। यो कुल बजेटको करिब ६० प्रतिशत रहेको उल्लेख गर्दै आर्थिक वर्षको अन्त्यसम्म कम्तीमा ८८ प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको उहाँले बताउनुभयो।
यसअघि नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख लब श्रेष्ठले गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, युवा उद्यमशीलता तथा पर्यटन प्रवर्द्धनलाई नगरपालिकाको प्रमुख प्राथमिकतामा राखिएको बताउनुभयो।

नीति तथा कार्यक्रमअनुसार कक्षा ८ तथा माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गरिने व्यवस्था गरिएको छ। त्यस्तै नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी अभियान सञ्चालन गरिने, योग शिक्षासहितको नागरिक आरोग्य कार्यक्रमलाई थप प्रभावकारी बनाइने तथा नगरपालिकाका सबै १४ वटै वडामा एक–एक योग केन्द्र स्थापना गरिने योजना अघि सारिएको छ।
कृषि क्षेत्रको उत्पादन वृद्धि र रैथाने बाली संरक्षणलाई प्राथमिकतामा राख्दै विशेष कार्यक्रम सञ्चालन गरिने, किसान परिचयपत्र वितरण सुरु गरिने तथा स्थानीय कृषि उत्पादनलाई काठमाडौंसम्म बजारीकरण गर्ने व्यवस्था मिलाइने नीति लिइएको छ। साथै दूध उत्पादक कृषकलाई उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।
यस्तै, लघु तथा घरेलु उद्योग प्रवर्द्धनका लागि ५० प्रतिशत लागत साझेदारीको कार्यक्रम सञ्चालन गरिने, युवा उद्यमीलाई प्रोत्साहन गरिने तथा स्वरोजगारका अवसर विस्तार गर्ने कार्यक्रमसमेत बजेटमा समावेश गरिएको छ।
पर्यटन क्षेत्रको विकासका लागि प्रमुख पर्यटकीय गन्तव्य तथा स्थानीय कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सहयोग गरिने, पर्यटकीय परामर्श कक्ष स्थापना गरिने तथा निर्माणाधीन फोहोर विसर्जन केन्द्रको कामलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो। तामाकाेशीमा सञ्चालनमा आएकाे माेटरबाेटलाई निरन्तरता दिन सहयाेग गरिने उहाँले बताउनुभयाे ।
यसका साथै भाैतिक पूर्वाधार, खानेपानी लगायतका याेजना पनि नगरकाे प्राथमिकतामा रहेाक छन् ।
नगरपालिकाले सार्वजनिक गरेको बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यम विकास, आधारभूत सेवा विस्तार तथा समावेशी र दिगो विकासलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ ।













प्रतिक्रिया दिनुहोस्