काठमाडौं, असार ८ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि एमाले नेता प्रदीप ज्ञवालीले राज्यका निकायले निष्पक्ष अनुसन्धान र विधिको शासनको सिद्धान्तअनुसार अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
सोमबार आफ्नो धारणा सार्वजनिक गर्दै ज्ञवालीले राज्यका संवैधानिक तथा कानुनी अख्तियारप्राप्त निकायले चाहेको अनुसन्धानमा सहयोग गर्ने, आफूमाथि उठेका प्रश्नको कानुनसम्मत रूपमा सामना गर्ने र न्यायालयको फैसलालाई सहज रूपमा स्वीकार गर्ने नीति एमालेको स्थापित मान्यता रहेको बताउनुभएको छ। उहाँले एमालेले विगतदेखि यही मान्यतालाई अवलम्बन गर्दै आएको उल्लेख गर्नुभयो।
उहाँले कुनै पनि प्रकरणमा पहिले निष्पक्ष र गहिरो अनुसन्धान गरिनुपर्ने, त्यसपछि आवश्यक ठहरिए अभियोजन प्रक्रिया अघि बढाइनुपर्ने र अदालतको निर्णय तथा कानुनी प्रक्रियाका आधारमा मात्रै कारबाही हुनुपर्ने धारणा राख्नुभयो। अत्यावश्यक अवस्था बाहेक पक्राउलाई पहिलो विकल्प बनाउन नहुने उहाँको भनाइ छ।
ज्ञवालीले पछिल्लो समय ‘पहिले गिरफ्तार गर्ने र त्यसपछि अनुसन्धान सुरु गर्ने’ प्रवृत्ति लामो समयदेखि दोहोरिँदै आएको टिप्पणी गर्दै यसले कानुनी शासन र न्यायिक प्रक्रियामाथि प्रश्न उठाउने बताउनुभयो।
उहाँले राज्यका कुनै पनि निकायका निर्णय पूर्वाग्रह वा प्रतिशोधबाट प्रेरित हुन नहुनेमा जोड दिँदै निष्पक्ष, कानुनसम्मत र पारदर्शी ढङ्गले अनुसन्धान तथा न्याय निरूपणको प्रक्रिया अघि बढाइनुपर्ने धारणा व्यक्त गर्नुभयो।
एमाले उपाध्यक्ष पौडेललाई आज प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ । पौडेल सुर्खेतमा एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यक्रममा सहभागी भइरहँदा पक्राउ पर्नुभएको हो। उहाँलाई सम्पत्ति शुद्धीकरण विभागको निर्देशनमा प्रहरीले पक्राउ गरेको हो ।













प्रतिक्रिया दिनुहोस्