काठमाडौं, असार ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष बिष्णु पौडेलको पक्राउप्रति कडा आपत्ति जनाउनु भएको छ ।
अध्यक्ष ओलीले विज्ञप्ति जारी गर्दै विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गर्न सरकारलाई चेतावनी समेत दिनुभएको छ । पौडेललाई सुर्खेतमा पार्टीको सांगठनिक कार्यक्रममा सहभागी भइरहेका बेला सरकारले ‘गैरकानुनी तथा अपहरण शैलीमा’ पक्राउ गरेको बताउँदै उहाँले त्यसको घोर निन्दा र भर्त्सना गर्नु भएकाे छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा सोमबार जारी विज्ञप्तिमा एमालेले आफू सधैँ कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा दृढ रहेको उल्लेख गर्दै वर्तमान सरकारले विपक्षी दलप्रति अराजनीतिक, अलोकतान्त्रिक र प्रतिशोधपूर्ण व्यवहार गरेको उल्लेख छ ।
विज्ञप्तिमा उपाध्यक्ष पौडेलमाथिको पक्राउलाई एमालेविरुद्ध भइरहेको ‘श्रृङ्खलाबद्ध राजनीतिक प्रहार र षड्यन्त्रको निरन्तरता’ का रूपमा व्याख्या गरिएको छ। पार्टीले पौडेल सुर्खेतको कार्यक्रम सकेर पूर्वनिर्धारित कार्यतालिकाअनुसार भोलिपल्ट काठमाडौं फर्कने तयारीमा रहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ।
एमालेले कानुनी प्रक्रिया अवलम्बन गरी आवश्यक परे सोधपुछ गर्न सकिने अवस्था हुँदाहुँदै पनि नियतवश पक्राउ गरिएको दाबी गरेको छ। सार्वजनिक पदमा रहिसक्नुभएका तथा कानुनको सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई ‘सस्तो राजनीतिक स्टन्ट’ र राजनीतिक लाभका लागि बदनियतपूर्वक पक्राउ गरिएको आरोप पनि विज्ञप्तिमा लगाइएको छ।
पार्टीले सरकारको उक्त कदमलाई अधिनायकवादी प्रवृत्तिको उदाहरण भन्दै त्यसको डटेर सामना गर्ने चेतावनी दिएको छ। साथै वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावादी र अधिनायकवादी बाटोतर्फ उन्मुख भएको आरोप पनि एमालेले लगाएको छ। विज्ञप्तिमार्फत एमालेले विपक्षी दलका नेताहरूलाई लक्षित गरी गरिने प्रतिशोधपूर्ण गतिविधि तत्काल रोक्न सरकारलाई चेतावनी दिएको छ। साथै सरकारका स्वेच्छाचारी र लोकतन्त्रविरोधी गतिविधिविरुद्ध सामूहिक प्रतिवाद गर्न सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान गरिएकाे छ ।
अध्यक्ष ओलीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा उपाध्यक्ष पौडेलमाथि गरिएको पक्राउलाई लोकतान्त्रिक मूल्य, विधिको शासन र राजनीतिक अधिकारमाथिको प्रहारका रूपमा चित्रण गरिएको छ।
विज्ञप्तिको पूर्णपाठ
नेकपा (एमाले) का उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेको छ, त्यसप्रति हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ ।
नेकपा (एमाले) सदैव कानुनी राज्य‚ सुशासन र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ । वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नांगो प्रतिशोधको यो अर्को पराकाष्ठा हो । यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले) माथि लगातार भइरहेका श्रृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यान्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ ।
उपाध्यक्ष पौडेल आजै सुर्खेतको कार्यक्रम सकेर भोलि नै काठमाडौँ फर्कने पूर्वनिर्धारित कार्यतालिका थियो । विधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै, जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उहाँकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्याइएको छ । सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो ‘स्टन्ट’ र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको छ। सत्ताको उन्मादमा गरिएको यस प्रकारको अधिनायकवादी कदमको हाम्रो पार्टी डटेर सामना गर्नेछ ।
वर्तमान सरकार अलोकतान्त्रिक‚ सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख छ । हामी सरकारलाई चेतावनी दिन चाहन्छौँ-विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस् ।
सरकारका यस्ता स्वेच्छाचारी र लोकतन्त्रविरोधी कृयाकलापका विरुद्ध सामूहिक प्रतिवाद गर्न हामी सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन हार्दिक आह्वान गर्दछु ।
केपी शर्मा ओली
अध्यक्ष













प्रतिक्रिया दिनुहोस्