जनता टाइम्स

९ असार २०८३, मंगलवार ०९:०६

बाबुराम भट्टराई लक्षित गर्दै रामकुमारी झाँक्रीको कटाक्ष  : ‘थुन्सेले ढाकेको बिरालो अन्ततः “म्याउ” गर्छ’


काठमाडौं, असार ९ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा आफूले परिकल्पना गरेको वैकल्पिक राजनीतिक शक्तिको रूपमा रास्वपालाई व्याख्या गरेपछि रामकुमारी झाँक्रीले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया जनाउनु भएकाे छ ।

चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै डा. भट्टराईले रास्वपालाई आफूले लामो समयदेखि परिकल्पना गर्दै आएको वैकल्पिक राजनीतिक शक्तिको रूपमा प्रस्तुत गर्नु भएकाे थियाे। उहाँको उक्त अभिव्यक्ति प्रति नेकपा (एमाले) की नेतृ झाँक्रीले फेसबुकमार्फत डा. भट्टराईको राजनीतिक भूमिकामाथि प्रश्न उठाउनु भएकाे छ ।

झाँक्रीले आफ्नो धारणा सार्वजनिक गर्दै ‘थुन्सेले ढाकेको बिरालो अन्ततः “म्याउ” गर्छ’ भन्ने उखान उद्धृत गर्दै डा. भट्टराईलाई लक्षित गर्नु भएकाे छ। उहाँले डा. भट्टराई ‘प्लान्टेड’ व्यक्ति भएको दोहोर्‍याउँदै इतिहासका विभिन्न राजनीतिक घटनाक्रमलाई त्यसको प्रमाणका रूपमा प्रस्तुत गर्नु भएको छ ।

उहाँले लेख्नु भएकाे छ, ‘थुन्सेले ढाकेको बिरालो अन्ततः “म्याउ” गर्छ। यो भनाइ हाम्रोतिरको हो। राजनीतिमा डा. भट्टराईमा लागू हुन्छ। हजुर Planted हो भन्ने कुरामा कति पटक Exposed हुनुपर्ने ? मैले अयोध्याको विद्यार्थी सम्मेलनदेखि, 7P, 77D हुँदै संविधान जारी भएपछि पार्टी छोड्नेदेखि वैकल्पिक पार्टीको वकालत हुँदै चितवनको अस्तिको भाषणसम्म स्मरण गरेँ, भो पुग्यो अब।’

झाँक्रीले आफ्नो टिप्पणीमा आफू इतिहासको प्रसंग उठाइरहेको उल्लेख गर्दै त्यसको अर्थ समकालीन राजनीतिकर्मीहरूले सहजै बुझ्ने दाबी पनि गर्नु भएकाे छ। ‘मैले इतिहासको कुरा गर्दैछु। समकालीन राजनीतिकर्मीले मात्र प्रसंग बुझ्नुहुन्छ,’ उहाँले लेख्नु भएकाे छ।

रास्वपाको महाधिवेशनमा डा. भट्टराईको उपस्थितिलाई लिएर राजनीतिक वृत्तमा विभिन्न टिप्पणी भइरहेका बेला झाँक्रीको प्रतिक्रिया थप चर्चाको विषय बनेको छ। डा. भट्टराईले आफ्नो सम्बोधनमा नेपालमा परम्परागत दलप्रतिको जनविश्वास घट्दै गएको र त्यसको विकल्पका रूपमा नयाँ राजनीतिक शक्तिहरू उदाउनुपर्ने धारणा राखेका थिए। सोही क्रममा उहाँले रास्वपालाई आफूले कल्पना गरेको वैकल्पिक राजनीतिक शक्तिसँग जोडेर व्याख्या गरेका थिए।

झाँक्रीको अभिव्यक्तिले भने डा. भट्टराईको विगतदेखि हालसम्मको राजनीतिक यात्रामाथि पुनः बहस सुरु गराएको छ। विशेष गरी माओवादी आन्दोलनबाट अलग भएको, नयाँ शक्ति अभियान सुरु गरेको तथा पछिल्ला वर्षहरूमा वैकल्पिक राजनीतिको पक्षमा निरन्तर वकालत गर्दै आएको उनको भूमिकालाई लिएर राजनीतिक दलहरूबिच फरक–फरक टिप्पणी हुँदै आएको छ।

रास्वपाको महाधिवेशनकै सन्दर्भमा आएको झाँक्रीको यो प्रतिक्रिया सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ भने यसले समकालीन राजनीतिक ध्रुवीकरण र वैकल्पिक राजनीतिको बहसमाथि नयाँ टिप्पणीसमेत जन्माएको छ।