जनता टाइम्स

९ असार २०८३, मंगलवार ११:४७

विष्णु पौडेल पक्राउ परेपछि एमाले नेता गोकुल बाँस्कोटाको प्रतिक्रिया : फाँसीमा चढाउने कानुन भए अभियोग प्रमाणित हुनु पर्छ


काठमाडौं, असार ९ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि पार्टीभित्र विभिन्न प्रतिक्रिया आउन थालेका छन् । यसै क्रममा एमाले नेता गोकुल बाँस्कोटाले कानुनी राज्य, न्यायिक प्रक्रिया र शक्ति सन्तुलनबारे टिप्पणी गर्नु भएकाे छ ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बाँस्कोटाले कानुनी विधि र प्रमाणित अभियोगको आधारमा मात्र दण्ड प्रक्रिया अघि बढ्नुपर्नेमा जोड दिनु भएकाे छ । उहाँले लेख्नु भएकाे छ, ‘फाँसीमा चढाउने कानुन भए पनि कानुनी विधिशास्त्रबाट अभियोग प्रमाणीकरण भएपछि मात्र चढाउन मिल्छ, शक्ति कोसँग थिएन-राणा, राजा, दलहरू ? तर लोकतन्त्रमा अन्तिम शक्ति जनतामा र कानुनमा निहित हुन्छ।’

त्यस्तै उहाँले शक्ति र पहुँचको आधारमा न्याय प्रभावित हुन नहुने उल्लेख गर्दै थप लेख्नु भएकाे छ, ‘गल्ती पुष्ट भए कसैले रेड कार्पेट खोज्न मिल्दैन, छैन भने शक्ति प्रदर्शनका श्रृंखला अतिवादमा रूपान्तरण हुन जान्छ।’

बाँस्कोटाले सत्तामा रहेकाहरूलाई संकेत गर्दै ‘सत्तासीनले जानेकै होलान्, अरु के भन्नु त?’ भन्दै टिप्पणी गर्नु भएकाे छ ।

विष्णु पौडेलसँग जोडिएको भनिएको घटनापछि एमालेभित्र आन्तरिक छलफल सुरु भएको छ । साेही विषयमा छलफल गर्न आज सचिवालय र संसदीय दलकाे बैठक बस्दै छ ।