जनता टाइम्स

९ असार २०८३, मंगलवार १२:०२

रास्वपाको रोकिएको बन्दसत्र आज दिउँसा एक बजेपछि सुरु हुने, ४२ सयभन्दा बढी प्रतिनिधि सहभागि हुँदै


काठमाडौं, असार ९ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रोकिएको जारी महाधिवेशनको बन्दसत्र आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ ।

महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका नेता गणेश पराजुलीले प्रतिनिधि सङ्ख्या प्रारम्भिक अनुमानभन्दा बढेर करिब २८ सयबाट ४२ सयभन्दा बढी पुगेपछि प्राविधिक व्यवस्थापनमा समस्या देखिएको जानकारी दिनुभयो । सोही कारण हिजो बन्दसत्र सुरु हुन नसकेको उहाँले बताउनुभयाे ।

उहाँका अनुसार अहिले हलमा महाधिवेशन प्रतिनिधिहरूको प्रवेश कार्ड वितरणको काम भइरहेको छ र सबै तयारी पूरा भएपछि आज दिउँसो १ बजेदेखि बन्दसत्र औपचारिक रूपमा सुरु गरिनेछ ।

पराजुलीले बन्दसत्र सुरु भएपछि करिब ४ घण्टाभित्र प्रारम्भिक प्रक्रिया सम्पन्न गरी मनोनयन दर्ता सुरु गर्ने योजना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आजै मनोनयन दर्ता हुनेछ र त्यसपछि निर्वाचन सम्भवतः भोलि बिहानबाट सुरु हुनेछ, भोलि सबै टुङ्ग्याउने गरी हामी अघि बढेका छौँ, टुङ्ग्याउनै पर्याे नि’, उहाँले भन्नुभयो ।

महाधिवेशनको बन्दसत्र सुरु नभएको भन्दै महाधिवेशन प्रतिनिधि आक्रोशित भएका छन् । उहाँले सो हुनु स्वाभाविक भएको बताउँदै अब कार्यक्रम अघि बढ्ने जानकारी दिनुभयो ।