काठमाडौं, असार ९ । नेकपा एमालेका सचिव महेश बस्नेतले सम्पत्ति छानबिन प्रक्रियालाई निष्पक्ष, समान र पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभएकाे छ ।
उहाँले ३५ वर्ष सार्वजनिक जीवन र राजनीतिमा बिताएका उपाध्यक्ष विष्णु पौडेलको सम्पत्ति छानबिन हुन सक्ने हो भने ३५–३६ वर्षको उमेरमै उल्लेख्य सम्पत्ति आर्जन गरेका प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलगायतको सम्पत्तिबारे पनि उस्तै गम्भीरता र पारदर्शिताका साथ छानबिन हुनुपर्ने बताउनु भएकाे छ ।
उहाँका अनुसार छानबिनको मापदण्ड व्यक्ति, पार्टी वा राजनीतिक निकटताअनुसार फरक हुनु हुँदैन । उहाँले भन्नुभएको छ, ‘जनताले कसैलाई दोषी वा निर्दोष घोषणा गरिदिन भनेका होइनन्, सत्य सार्वजनिक होस् भनेका हुन् । त्यसैले विष्णु पौडेलसँगै बालेन, सुधन गुरुङलगायत सबैको सम्पत्ति, आर्जनको स्रोत र त्यससम्बन्धी छानबिन प्रतिवेदनहरू जनतासामु ल्याइनुपर्छ ।’
बस्नेतले पूर्व न्यायाधीश राजेन्द्रप्रसाद भण्डारीको अध्यक्षतामा गठन गरिएको सम्पत्ति छानबिन आयोगको प्रतिवेदनबारे पनि टिप्पणी गर्दै त्यसलाई पूर्ण रूपमा सार्वजनिक नगरिएकोप्रति प्रश्न उठाउनुभएको छ । उहाँले उक्त प्रतिवेदन सुदन गुरुङलाई चोख्याएर लुकाइएको र पुनः नियुक्तिको ‘नाटक’ गरिएको जस्तो देखिएको जनाउँदै निष्पक्ष छानबिन र पूर्ण पारदर्शिताबाट मात्र सत्य स्थापित हुने र राज्यका निकायप्रति जनविश्वास कायम रहने बताउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्