जनता टाइम्स

९ असार २०८३, मंगलवार १४:३५

रास्वपामा चुलिँदै असन्तुष्टि, सांसद राजुनाथ पाण्डेले यसरी पोखे असन्तुष्टि


काठमाडौं, असार ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पछिल्लो समय असन्तुष्टिका स्वर क्रमशः मुखर बन्दै गएका छन्। पार्टीभित्र नेतृत्वको कार्यशैली, अवसरको वितरण र राजनीतिक संस्कारबारे विभिन्न तहबाट प्रश्न उठिरहेका बेला रास्वपाका प्रतिनिधिसभा सदस्य राजुनाथ पाण्डेले पनि सामाजिक सञ्जालमार्फत पार्टी र समग्र राजनीतिक प्रवृत्तिमाथि कडा टिप्पणी गर्नुभएको छ।

सांसद पाण्डेले सत्ता, पद र विशेषाधिकारको निरन्तरताप्रति असन्तुष्टि व्यक्त गर्दै परिवर्तनको वास्तविक उद्देश्यबारे गम्भीर प्रश्न उठाउनुभएको छ। उहाँले प्रत्यक्ष निर्वाचित सांसद, समानुपातिक सांसद, मन्त्री, संसदीय समितिको सभापति, पार्टी पदाधिकारी र केन्द्रीय सदस्य बन्ने प्रतिस्पर्धालाई संकेत गर्दै परिवर्तन आखिर कसका लागि भएको हो भन्ने प्रश्न गर्नुभएको छ।

उहाँले लेख्नुभएको छ, ‘प्रत्यक्ष निर्वाचित सांसद, नभए समानुपातिक सांसद, त्यसपछि मन्त्री, मन्त्री नभए संसदीय समितिको सभापति, त्यसपछि पार्टी पदाधिकारी, अनि सकेसम्म केन्द्रीय सदस्य, प्रश्न यत्ति मात्रै हो- परिवर्तन आखिर कसका लागि ?’

सांसद पाण्डेले पुरानो राज्य व्यवस्थाले दिएको सुविधा, हैसियत र विशेषाधिकारको विरोध गर्दै आएको दाबी गर्ने राजनीतिक शक्तिहरू स्वयं पनि उही प्रवृत्तिमा अल्झिएको टिप्पणी गर्नुभएको छ। उहाँले संसदीय समितिका सभापतिहरू अहिले पनि व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) बोकेर हिँडिरहेको अवस्थालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै परिवर्तनको सारबारे प्रश्न गर्नुभएको छ।

उहाँले अगाडि लेख्नुभएको छ, ‘पुरानो राज्यसत्ताले दिएको सुविधा, हैसियत र विशेषाधिकारको विरोध गर्दै आएको भनिने राजनीतिक संस्कार आज पनि उस्तै देखिँदा स्वाभाविक रूपमा प्रश्न उठ्छ-संसदीय समितिका सभापतिहरू अझै पीएसओ बोकेर हिँडिरहेका छन् भने, परिवर्तनको नाममा फेरिएको के हो ? कि परिवर्तन केवल अनुहारको भयो, संस्कार र प्रवृत्तिको होइन ?’

सांसद पाण्डेको यो अभिव्यक्ति रास्वपाभित्र पछिल्लो समय देखिँदै आएको आन्तरिक असन्तुष्टि र नेतृत्वप्रतिको प्रश्नसँग जोडेर हेरिएको छ। पार्टीभित्र संगठन सञ्चालन, अवसरको बाँडफाँट, निर्णय प्रक्रिया तथा नेतृत्व शैलीलाई लिएर विभिन्न तहका नेता–कार्यकर्ताले समय–समयमा असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

पाण्डेको पछिल्लो टिप्पणीले रास्वपाभित्र सुधार, राजनीतिक संस्कार र नेतृत्वको कार्यशैलीबारे बहसलाई थप तीव्र बनाउने अनुमान गरिएको छ। उहाँ पार्टीमा बालेन निकट मानिनु हुन्छ ।