जनता टाइम्स

९ असार २०८३, मंगलवार १९:५९

विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं, असार ९ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा सुर्खेतबाट हिरासतमा लिइएका एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालत काठमाडौंले अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, न्यायाधीश हेमन्त रावल र न्यायाधीश उमेश कोइरालाको संयुक्त इजलासबाट उक्त म्याद थपको आदेश भएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई नियन्त्रणमा लिएपछि जरूरी पक्राउ पुर्जी स्वीकृतिका साथै अनुसन्धानका लागि म्याद थप गर्न अदालतसमक्ष अनुरोध गरेको थियो।

सोही अनुरोधका आधारमा विशेष अदालतले जरूरी पक्राउ पुर्जी स्वीकृत गर्दै आज पहिलो पटक ७ दिनको म्याद थप गरेको हो। अदालतको आदेशलगत्तै पौडेललाई अनुसन्धान प्रक्रिया अघि बढाउनका लागि न्यायिक हिरासतमा राख्न पठाइएको विशेष अदालतको प्रशासन शाखाले जनाएको छ।

पूर्वउपप्रधान तथा अर्थमन्त्री पौडेललाई सोमवार सुर्खेतबाट पक्राउ गरी रातभर स्थलमार्गबाट माइक्रोमा काठमाडौं ल्याइएको थियो । प्रधानमन्त्री कार्यालयको आदेशमा हवाई मार्ग नभई स्थलमार्गबाट रातारात ल्याइएको हो ।