जनता टाइम्स

९ असार २०८३, मंगलवार १९:५९

विष्णु पौडेलको गिरफ्तारीप्रति एमालेको आपत्ति, अध्यक्ष ओलीद्वारा रिहाइको माग


काठमाडौं,  जेठ ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाउँदै उक्त कदम प्रतिशोधपूर्ण र गैरकानुनी भएको बताउनुभएको छ।

च्यासलस्थित एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पौडेललाई पक्राउ गर्ने क्रममा अमानवीय व्यवहार गरिएको दाबी गर्नुभयो। उहाँले यस्तो कार्य कानुनी शासन र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको उल्लेख गर्नुभयो।

अध्यक्ष ओलीले प्रतिशोधको भावनाबाट प्रेरित भएर गरिएको गिरफ्तारी तत्काल सच्याउन तथा पौडेललाई अविलम्ब रिहा गर्न सरकारसँग माग गर्नुभएको छ। उहाँले सरकारले पछिल्लो समय विभिन्न निर्णय र गतिविधिमा कानुनी प्रक्रिया तथा लोकतान्त्रिक अभ्यासलाई बेवास्ता गरिरहेको आरोप पनि लगाउनुभयो।

सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप हुन थालेको टिप्पणी गर्नुभयो। यस्ता गतिविधिविरुद्ध एमालेले संसद् र सडक दुवैबाट सशक्त ढंगले आवाज उठाउने बताउनुभयो।

बैठकमा सहभागी नेताहरूले पनि सरकारका पछिल्ला कदमप्रति चिन्ता व्यक्त गर्दै राजनीतिक पूर्वाग्रहका आधारमा गरिने कारबाही लोकतान्त्रिक प्रणालीका लागि उपयुक्त नहुने धारणा राख्नुभएको थियो।